हेटौंडामा गाडीले च्यापिएर सहचालकको मृत्यु

पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–११ थानभर्‍याङमा ट्रकले च्यापिएर पर्साको पर्सागढी गाउँपालिका–३ का विरुवागुठीका २३ वर्षीय फुलकान्त थारुको मृत्यु भएको हो ।

वैशाख १५, २०८३

प्रताप विष्ट

Co-driver dies after being crushed by vehicle in Hetauda

हेटौंडा — हेटौंडा उपमहानगरपालिका—११ थानाभर्‍याङमा गाडीले च्यापिएर सहचालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–११ थानभर्‍याङमा ट्रकले च्यापिएर पर्साको पर्सागढी गाउँपालिका–३ का विरुवागुठीका २३ वर्षीय फुलकान्त थारुको मृत्यु भएको हो ।

थानाभर्‍याङमा रोकिराखेको ना. ७ ख.७०१८ नम्बरको लहरी ट्रकको अगाडिको भागको सिसा पुछेर सफा गर्न लागिरहेको अवस्थामा चालकले गाडी चलाउँदा राजमार्ग छेउमा अगाडि रोकिराखेको ना ६.ख.४२८९ नम्बरको ट्रक पछाडी ठोक्किँदा लहरीको सहचालक थारु च्यापिएर घाइते भएका थिए । 

घाइते सहचालक थारुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो । 

भरतपुर अस्पतालमा उपचारको क्रममा सहचालक थारुको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए ।

लहरीका चालक पर्सा ठोरी गाउँपालिका–१ ३२ वर्षीय एकराज तिमिल्सेना र अर्का चालक उदयपुरका २९ वर्षीय भविस तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully