इन्द्रावतीमा पौडी खेल्न गएकी किशोरीको शव फेला, एक जना अझै बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको पुल नजिक इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा दुई जना किशोरी बेपत्ता भएका थिए ।

वैशाख १४, २०८३

अनिश तिवारी

Body of teenager found after swimming in Indrawati, one person still missing

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको पुल नजिक इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा आइतबार बेपत्ता भएका दुई जना किशोरीमध्ये एक जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बगेकामध्ये मेलम्ची–९ रातमाटेकी १८ वर्षीया अञ्जली गिरीको शव घटनास्थलदेखि तलतिर मेलम्चीस्थित बाङे सिमलमुनि क्षेत्रमा फेला परेको छ ।

अर्की पाँचपोखरी थाङपाल गाउँपालिका–६ स्यालेकी १४ वर्षीया अन्जिता ज्योति अझै बेपत्ता रहेकी छन् । जिल्ला प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले ज्योतिको खोजी कार्य जारी राखेको छ । नदीमा पानीको बहाव बढेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले वर्षायाम नजिकिँदै गर्दा नदी तथा खोलामा पौडी खेल्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully