छोराछोरीलाई एक कक्षा पढाउनै गाउँ छाड्छन् ठोङठोङबासी

यहाँका अधिकांश अभिभावकले बालबालिकाको शिक्षाका लागि घरमा ताल्चा लगाएर गाउँ छोड्नु परेको छ ।

वैशाख १०, २०८३

केदार शिवाकोटी

Thongthong residents leave village to send their children to grade one

What you should know

दोलखा — बिगु गाउँपालिका–१ दुर्गम ठोङठोङका अधिकांश घरमा ताला लागेका छन् । ४३ घरधुरी रहेको ठोङठोङमा अचेल ९ घरको ढोका मात्रै खुल्छ । अधिकांश घरमा ताल्चा लाग्नुको मुख्य कारण हो, बालबालिकाको पढाइ ।

विकासका आधारभूत पूर्वाधार नपुगेको र पहिरोको जोखिममा रहेको ठोङठोङका बासिन्दा बालबालिकाको पढाइका लागि गाउँ छाड्न बाध्य छन् । नजिकै कक्षा ३ सम्म पढाइ हुने ठोङठोङ आधारभूत विद्यालय विद्यार्थी अभावमा चार वर्षअघि बिगु–१ कै गोगरमा गाभिएको थियो । उक्त विद्यालयमा २०७२ को भूकम्पपछि निर्माण भएका संरचना पनि भग्नावशेष बनिरहेका छन् । गाउँको विद्यालय बन्द भएपछि छोराछोरीको शिक्षाका लागि घरमा ताल्चा लगाएर कोही लामाबगर त कोही सहरतिर झरेका छन् । 

उक्त गाउँबाट गोगरमा रहेको विद्यालय आउन–जान भीरको बाटो कम्तीमा ४ घण्टा हिँड्नुपर्छ । ठोङठोङका साना बालबालिका विद्यालय आउनजान नसक्ने भएपछि अभिभावकले घरमा ताल्चा लगाएर गाउँ छाड्न बाध्य भएको स्थानीय लालबहादुर तामाङले बताए । ठोङठोङबाट लामाबगर हिँडेर आउजाउ गर्न टाढा भएकाले उतै कोठा खोजेर पढाउने गरेको तामाङले बताए । ‘लामाबगरमा कोठा भाडामा लिएर छोराछोरीलाई पढाउने र हाइड्रोमा मजदुरी गरिरहेको छु,’ उनले भने, ‘घरपायक विद्यालय बन्द भयो, छोराछोरी पनि माथिल्लो कक्षामा उक्लिए ।’ कक्षा ३ भन्दा माथि पढ्ने विद्यार्थीलाई समस्या हुन थालेपछि स्थानीयले सानैदेखि विकल्प खोजेर सहर वा अन्यत्र जाने गरेको उनले बताए ।  

तामाङ समुदायको बसोबास रहेको ठोङठोङ भीरमूनिको ‘अनकन्टार गाउँ’ले परिचित छ । यो बस्तीमा विकासका अन्य पूर्वाधार पनि पुगेका छैनन् । स्वास्थ्य र यातायातको समस्याले पनि गाउँ छाड्नु परेको स्थानीय बताउँछन् । बस्तीमा यातायातको पनि असुविधा छ । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले बनाएको सडकले केही घरमात्रै १५/२० मिनेट हिँडेर यातायातको पहुँच पाएका छन् । आधारभूत सुविधाकै यहाँका अधिकांश अभिभावकले बालबालिकाको शिक्षाका लागि घरमा ताल्चा लगाएका जानु परेको तामाङले सुनाए । ठोङठोङ गाउँबाट १० कक्षासम्म पढ्ने २० जना भन्दा बढी बालबालिकाले पढाइका लागि घर छाडेको उनले बताए ।   

Thongthong residents leave village to send their children to grade one

विकट गाउँ भएकाले कतिपय महिला सुत्केरी हुन पनि गाउँ छाड्नुपर्ने बाध्यता भएको स्वस्ती तामाङले बताइन्। ‘सामान्य बिरामी परिहाले पनि ३ घण्टा उकालो–ओरालो गर्नुपर्छ, सुत्केरी–गर्भवतीलाई झनै समस्या हुन्छ,’ उनले भनिन्, ‘२ वर्षअघि मैले नै स्वास्थ्य संस्था जान नसकेर घरमै बच्चा जन्माए ।’ आफूले दुःख भोगेर पनि बालबालिकाको पढाइका लागि घरमा ताला लगाएर जाने गरेको उनले बताइन् । ‘सानै उमेरका हुँदा त नजिककै विद्यालयमा भर्ना गर्नुहुन्थ्यो, पढ्ने बच्चा कम भए भनेर विद्यालय मर्ज भयो,’ उनले भनिन्, अब बच्चा पढाउन घरै छाडनुपर्छ, आर्थिक अवस्था पनि कमजोर हुनेले त पढाउँदैनन् ।’ 

ठोङठोङ जस्तै बिगु–१ को चीनसँग सीमा जोडिएको लप्चीका बालबालिका लागि खुलेको घुम्ती विद्यालय कागजमा सीमित छ । लप्चीका बासिन्दा जाडोमा लुम्नाङ झर्छन् । गर्मी लागेपछि उनीहरु याक, चौंरी लिएर लप्ची जाने गरेका छन् । लुम्नाङमा कक्षा ३ सम्मको विद्यालय बन्द छ । तर त्यहाँ पढाइ भने हुने गरेको छैन । लप्चीका १८ जना बालबालिका हाल काठमाडौंमा बसेर पढिरहेका छन् । उनीहरुलाई गाउँकै एक संस्थाले काठमाडौंमा राखेर पढाइरहेको स्थानीय कर्मावाईसर शेर्पाले बताए । ‘भूकम्पले लुम्नाङको विद्यालय भवन भत्किएपछि बालबालिकालाई पढाउन काठमाडौं लगेका हौं,’ उनले भने, ‘भवन नबने पनि विद्यालय खारेज गर्न दिएका छैनौं । सडक बन्दैछ, भोलिका दिनमा नाका खुले विद्यालय संचालन गर्नुपर्छ भनेर राखेका छौं ।’ लुम्नाङको विद्यालयका दरबन्दीका शिक्षकलाई लामाबगा स्थान्तरण गरिएको उनले बताए ।  

बिगु नजिकैको गौरीशंकर गाउँपालिका– ९ मा रहेको अर्को गाउँ रिकुमा रहेको कक्षा ३ सम्म पढाइ हुने विद्यालय पनि विद्यार्थी अभावमा बन्द भयो । थोरै जनसंख्याका कारण बालबालिका निकै कम भएपछि उक्त विद्यालय बन्द गरिएको थियो । अहिले बालबालिका पढाउन रिकुका बासिन्दाले पनि घर छाड्नुपर्ने बाध्यता छ।

भौगोलिक विकटता र असुविधाका कारण साना बालबालिका घण्टौं हिँड्न नसक्ने भएपछि गाउँ छाड्नुको विकल्प नभएको बन्द भइसकेका ठोङठोङ आधारभूत विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष रिकसाङ तामाङले बताए । ‘भीरैभीरको बाटो घण्टौं हिँडेर विद्यालय पुग्नुपर्छ,’ उनले भने, ‘साना नानीहरु हिँड्न सक्दैनन् त्यसैले बाआमा नै घर छाडेर जानु परेको छ ।’ 

बिगु गाउँपालिकाले यस्ता विकट बस्तीका बालबालिकाका लागि वडा १ जगतमा रहेको गौरीशंकर माविमा छात्रावासहितको व्यवस्था गरेको छ । हाल यो विद्यालयको छात्राबासमा  कक्षा १ देखि १० सम्म ८३ जना विद्यार्थी बस्छन् । पालिकाको दुर्गम भेगबाट आएका विद्यार्थीलाई पालिकाले खानपानसहित निशुल्क छात्रावासको व्यवस्था गर्दै आएको गौरीशंकर माविका प्रधानाध्यापक हिरामणि गौतमले बताए ।

साना बालबालिकालाई छात्रावासमा राख्न अलि कठिन हुने भएकाले कतिपय अभिभावकले यतै डेरा खोजेर पढाउन गरेका उनले बताए । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले बनाएको सडकका कारण विद्यालय आफैले बस संचालन गर्न सके दुर्गमका बालबालिका बिहान ल्याएर बेलुकी घरमै छाड्न सकिने उनले बताए । ‘भौगोलिक विकटताकै कारण निकै कठिन छ साना बालबालिकालाई विद्यालय पहुँचमा ल्याउन,’ उनले भने, ‘कतिखेर खोला नाला बढ्छ, कतिखेर पहिरो खस्छ पत्तो हुँदैन्, पालिकाले छात्रावास संचालनमा ल्याएपछि केही राहत त भएको छ, तर अझै दुर्गमका बालबालिका विद्यालय उमेरमै पढाइबाट बञ्चित हुनु परेको छ ।’

गौरीशंकर माविमा हाल ठोङठोङ, टाँसीनाम, सिमिगाउँलगायत ७ भन्दा बढी गाउँका बालबालिका पढ्नका लागि आउने गरेको उनले बताए । आधारभूत तह गाउँमा पढेपछि कति बालबालिकाले टाढा भएका कारण विद्यालय छाड्ने क्रम पनि उत्तिकै रहेको उनले बताए ।

केदार

Link copied successfully