जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त अधिकांश मन्त्रालय र सरकारी आवासहरु मर्मत गरेर हस्तान्तरण गरिएको छ ।
What you should know
हेटौंडा — बागमती प्रदेशमा भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट क्षतिग्रस्त सरकारी कार्यालयको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारीमा भएको छ । क्षतिग्रस्त अधिकांश मन्त्रालय र सरकारी आवासहरु मर्मत गरेर हस्तान्तरण पनि गरिएको छ ।
पुनर्निर्माणपश्चात उक्त भवनको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सोमबार उद्घाटन गरेका थिए । पाँच वटा मन्त्रालय बसेको भवनको पुनर्निर्माणपश्चात मन्त्रालयहरुले छिट्टै यही भवनमा बसेर काम थाल्ने उनले बताए ।
आन्दोलनका क्रममा हेटौंडामा रहेका भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयका भवनमा ठूलो क्षति पुगेको थियो । उक्त भवन मर्मतपछि पुरानै अवस्थामा फर्काउन सफल भएको भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले बताए ।
जेनजी आन्दोलनले क्षति पुगेको ५ मन्त्रालय रहेको हेटौंडा उपमहानगरपालिका—१ स्थित ५ तले भवनको पुनर्निर्माण कार्य सम्पन्न पश्चात उद्घाटन गरिएको हो । त्रिभुवन राजपथको आडमा रहेको उक्त भवनमा ५ वटा मन्त्रालय रहेका थिए । उक्त भवनमा अब उर्जा खानेपानी, सहकारी तथा गरिबी निवारण, श्रम र कृषि मन्क्रालयसहित चार वटा मन्त्रालय बस्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त भएको उक्त भवनको पुर्ननिर्माण गर्न १ करोड २८ लाख रुपैयाँ खर्च भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सगुन कन्ट्रक्सनले ५ महिनाअघि पुर्ननिर्माणको ठेक्का लिएको थियो । निर्माण कम्पनीले समय अगावै काम सकेको मन्त्रालयले जनाएको छ । ‘कम अवधिमा पनि हामीले विज्ञहरुको सल्लाह र इन्जिनियरिङका आधारमा पुनर्निर्माण गरिएको छ,’ मन्त्री देवकोटाले भने, ‘मन्त्रालयले इन्जिनियरिङका विज्ञहरु परिचालन गरी भवनका डन्डीहरु कति तापक्रममा पग्लिएका छन् र संरचना कति सुरक्षित छ भन्ने प्राविधिक अध्ययन समेत गरेको थियो ।’
प्रदेशका प्रमुख सचिवको निवास, बागमती प्रदेशसभा सचिवालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयका भवनहरुको मर्मत कार्य पनि निर्माण व्यवसायीले अन्तिम चरणमा पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयबाट प्राप्त ६ करोड ४३ लाख रुपैयाँको विशेष बजेटमार्फत टेन्डर आव्हान गरी केही क्षतिग्रस्त संरचनाहरुको मर्मत गरिएको मन्त्री डा. देवकोटाले बताए । विज्ञहरुको प्रतिवेदनका आधारमा आगामी दिनमा बाँकी संरचनाहरूको पुनर्निर्माणका लागि ८३ करोड २० लाख रुपैयाँको बजेट अनुमान गरिएको छ । मन्त्री डा. देवकोटाका अनुसार जेनजी आन्दोलनका त्रममा १ अर्ब ३५ करोड ३४ लाख ९२ हजार रुपैयाँको क्षति भएको थियो । जसमा भवनतर्फ ५८ करोड १५ लाख रुपैयाँ र सवारी साधनतर्फ (१४३ वटा मोटरसाइकल र ५६ वटा चार पांग्रे गाडीमा क्षति) २४ करोड ७८ लाख रुपैयाँ र जिन्सी सामानहरुमा २७ करोड ३५ लाख रुपैयाँ क्षति भएको थियो ।
