कटुन्जेदेखि मंगलटारसम्मको सडकखण्डमा डाइभर्सन बग्दा शनिबार रातिदेखि दुईतर्फी सवारी अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रे — बर्सातका कारण बीपी राजमार्गको विभिन्न स्थानमा डाइभर्सन बगाएकाले सवारी आवागमन अवरुद्ध भएको छ । कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेलगायत बीचका अन्य डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
उनका अनुसार, डाइभर्सन बगाएकाले शनिबार राति ११ बजेदेखि नै राजमार्गमा दुईतर्फी सवारी अवरुद्ध भएको हो । जिल्लास्थित धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुण्डे र मंगलटारमा सवारीसाधन 'होल्ड' गरेर राखिएको उनले बताए ।
बाटो मर्मत गरी सवारी आवागमन सञ्चालन गर्न अझै समय लाग्ने भएको कारण सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
