६ बैशाखमा बागमती प्रदेश सभाको बैठक आह्वान

बैठकमा गत २५/२६ चैतमा प्रस्तुत भएको विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल, दफाबार छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभाका सविच रामकुमार पौडेलले जानकारी दिए ।

वैशाख ४, २०८३

सुवास विडारी

Bagmati Provincial Assembly meeting called for 6th Baisakh

मकवानपुर — बागमती प्रदेश सभाको वैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको चालु अधिवेशनको बैठक आह्वान गरिएको हो  ।

प्रदेश सभाको यस बैठकमा गत २५/२६ चैतमा प्रस्तुत भएको विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल, दफाबार छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभाका सविच रामकुमार पौडेलले जानकारी दिए । उनका अनुसार सदनमा छलफलका क्रममा उठेका विभिन्न विषयहरुलाई समितिमा पठाइनेछ ।

‘सदनमा उठेका विषयहरू समेत समितिमा पठाएर विधेयकमाथि दफाबार छलफल गरिनेछ । त्यहाँबाट प्राप्त सुझावलाई समेटेर छुट्टाछुट्टै प्रतिवेदन तयार पार्नेछौं,’ उनले भने । सत्तारुढ कांग्रेस र एमालेबीच सहमति नहुँदा यस अधिवेशनमा सभामुख चयन प्रक्रिया अगाडि बढ्ने सम्भावना  न्यून छ । ‘एक दिन बैठक राखेर सदनको हिउँदे अधिवेशन अन्त्य गर्ने र केही दिनभित्रमा बजेट अधिवेशन बोलाएर सभामुख चयन गर्ने गरी छलफल अगाडि बढेको छ,’ कांग्रेस निकट एक सांसदले भने ।

सत्ताको साँचो हस्तान्तरण गर्ने वा कायमै राख्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच विवाद रहेको छ । जसको कारणले सभामुख चयन प्रक्रिया र मन्त्रालयको संख्या घटाउने विषय बागमतीमा ओझेलमा परिरहेको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully