घरमै राहदानी पाएपछि गौतम परिवार दंग

जिल्ला प्रशासनले बुधबार ५० वटा राहदानी वितरण गर्न हुलाकलाई पठाएको थियो । अहिलेसम्म कार्यालयबाट नलिइएका करिब ५ सय राहदानी हुलाकमार्फत पहिलो चरणमा वितरण गर्ने योजना छ ।

वैशाख ३, २०८३

प्रताप विष्ट

Gautam family shocked after receiving passport at home

What you should know

हेटौंडा — घरमै दुःखसुखका कुराकानी गरिरहेका थिए । बुधबारको दैनिकी र भविष्यमा गर्नुपर्ने कामकाजबारे छलफल गरिरहेका बेला नचिताएको भयो । फुर्सद मिलाएर जिल्ला प्रशासन जाने सोच बनाएका उनीहरूको दैलोमै बुधबार राहदानी आइपुग्यो । घरमै बसिरहेका बेला राहदानी हात परेपछि हेटौंडा उपमहानगरपालिका–१६ का शिवप्रसाद र श्रीमती जीतकुमारी गौतम फुरुंग बने । 

‘पासपोर्ट लिन जिल्ला प्रशासन जाने सल्लाह हुँदै थियो,’ शिवप्रसादले भने, ‘हुलाकका कर्मचारीले घरमै ल्याइदिए ।’ घरमै राहदानी बुझ्ने दिन आउला भनेर कल्पना पनि नगरेको उनले बताए । ‘नयाँ सरकारले यसरी नै सुविधा दिँदै जाने हो भने पक्कै मुलुक बन्ने छ,’ उनले भने । 

जिल्ला हुलाक कार्यालयले बुधबारबाट उपमहानगरपालिका क्षेत्रमा घर/घरमा राहदानी पुर्‍याउन सुरु गरेको हो । यसरी नै नागरिकता लगायत पनि पुर्‍याइने हुलाकले जनाएको छ । 

कर्मचारीले पहिलो दिन हेटौंडा –२, ४, ५, ७, १०, ११, १२, १३, १६ र १७ सहित १० वडाका २६ जनालाई घरमै पुगेर राहदानी वितरण गरेका थिए । ‘बुधबार ५० जनालाई घर–दैलोमा राहदानी पुर्‍याउने लक्ष्य थियो,’ हुलाक कार्यालय प्रमुख रमेश लामिछानेले भने, ‘फोन गरेर बुझ्दा कुनै घरमा कोही पनि नभएको, कसैले भोलि आउनूस् भनेकाले २६ वटामात्र राहदानी घर पुर्‍याउन सफल भयौं ।’ सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन धाउनुपर्ने झन्झटबाट गौतम दम्पतीले मात्र होइन, अन्यले पनि छुटकारा पाएका छन् । Gautam family shocked after receiving passport at home

जिल्ला प्रशासनले हुलाक सेवामार्फत राहदानी सिधै घरमै पुर्‍याएको हो । जिल्ला हुलाकका कर्मचारीले बुधबार हेटौंडा–४, कपुर कम्प्लेक्स भवन नजिकका २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी बुझाएका थिए । राहदानी बुझाउन हलकारा, हुलाक कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी पुगेका थिए । आँगनमै राहदानी पाएपछि खुसी मानन्धरले भने, ‘बल्ल बालेन सरकारले राम्रो कामको सुरुवात गर्‍यो, यस्तै काम अन्य क्षेत्रमा पनि गर्नु पर्‍यो ।’

जिल्ला प्रशासनले बुधबार ५० वटा राहदानी वितरण गर्न हुलाकलाई पठाएको थियो । राज्यले सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ लाई कार्यान्वयन गर्ने उद्देश्यले उक्त कार्य सुरु गरेको हो । सेवाग्राहीको समय र श्रम बचत गर्ने उद्देश्यसहित सुरु गरिएको यस पहलले राहदानी वितरण प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुरुवाती चरणमा उपमहानगरपालिका क्षेत्रभित्र मात्र सेवा उपलब्ध गराइनेछ । अहिलेसम्म कार्यालयबाट नलिइएका करिब ५ सय राहदानी हुलाकमार्फत पहिलो चरणमा वितरण गर्ने योजना रहेको छ ।

भविष्यमा नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनले लिएको छ । स्रोत–साधन र सुरक्षा संवेदनशीलताका कारण जिल्लाका अन्य पालिकामा सेवा विस्तार हुन नसके पनि उपमहानगर क्षेत्रमा भने सहज रूपमा सञ्चालन गर्न सकिने हुलाकले जनाएको छ । नजिकका वडामा सोही दिन र टाढाका क्षेत्रमा बढीमा भोलिपल्ट बेलुकासम्म राहदानी पुर्‍याइने व्यवस्था मिलाइने हुलाक कार्यालय प्रमुख लामिछानेले जानकारी दिए । सरकारले चैत १३ गते घोषणा गरेको एक सय वटा शासकीय सुधार कार्यक्रमअन्तर्गत ‘घरघरमै सेवा’ पुर्‍याउने घोषणा गरेको थियो ।

राहदानीसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका अन्य सेवासमेत विस्तार गरी घरदैलो सेवामा परिणत गर्ने संघीय सरकारको तयारी रहेकाले हुलाक कार्यालयको क्षमता विकास तथा विस्तार गर्नुपर्ने लामिछानेले बताए । जिल्ला हुलाकमा अहिले ४६ जना कर्मचारी कार्यरत छन् । जिल्लामा ९ वटा पालिका हुलाक, २ वटा हुलाक काउन्टर र एउटा जिल्ला कार्यालय रहेका छन् । कार्यालयले दैनिक सरकारी कार्यालय तथा वैदेशिक पार्सलहरू गरी १ सय चिठ्ठीपत्र वितरण तथा ओसार–पसार गर्दै आएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully