एक करोडभन्दा बढी मूल्यका अवैध चाइनिज सामानसहित भ्यान नियन्त्रणमा

सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा बिल–बिजक तथा भन्सार प्रज्ञापन-पत्र नभएको अवस्थामा सामान फेला पारेको हो ।

वैशाख १, २०८३

अनिश तिवारी

Van seized with illegal Chinese goods worth over Rs. 10 million

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका हुँदै ल्याइएको एक करोडभन्दा बढी मूल्यका अवैध चाइनिज किराना सामानसहित भ्यान नियन्त्रणमा लिइएको छ। 

सशस्त्र प्रहरी बल नेपाल न १६ हेडक्वाटर सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक नवराज नेपालकाअनुसार यहाँको बलेफी गाउँपालिका–८ स्थित चेकपोस्टबाट आइतबार राति सशस्त्र प्रहरी बलको चेकपोस्ट टोलीले बाह्रबिसेबाट खाडीचौरतर्फ आउँदै गरेको ना ३ ख ५१४० नम्बरको भ्यान जाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो। 

सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा बिल–बिजक तथा भन्सार प्रज्ञापन-पत्र नभएको अवस्थामा सामान फेला पारेको उनले जानकारी दिए ।  'बरामद गरिएको चाइनिज किराना सामानको अनुमानित मूल्य ८६ लाख ३१ हजार ८ सय रुपैयाँ रहेको छ भने सवारी साधनको मूल्य करिब १५ लाख रुपैयाँ आकलन गरिएको छ,' नेपालले भने ।

नियन्त्रणमा लिइएको सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully