इलाका प्रहरी बाह्रबिसेका अनुसार बाह्रबिसेबाट लामोसाँघुतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
सिन्धुपाल्चोक — बलेफी गाउँपालिका–८ नयाँ पुलस्थित अरनिको राजमार्गमा मंगलबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इलाका प्रहरी बाह्रबिसेका अनुसार बाह्रबिसेबाट लामोसाँघुतर्फ जाँदै गरेको बा प्र ०२–०४९ प ७७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–०२–००१ प ९०७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा सुनकोशी गाउँपालिका–७ का २५ वर्षीय जीवन खत्री गम्भीर घाइते भएका थिए । 'टाउकोमा गम्भीर चोट लागेका उनको सिन्धु सदाबहार अस्पताल लामोसाँघुमा उपचारका क्रममा साँझ ५:२० बजे मृत्यु भएको हो',घटनास्थलमा खटिएको इप्रका बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काले भने ।
त्यसैगरी, ९०७६ नम्बरको मोटरसाइकल चालक बाह्रबिसे नगरपालिका–६ का २७ वर्षीय कुमार तामाङ र उनकी श्रीमती ३१ वर्षीया सुनिता तामाङ सामान्य घाइते भएका छन् । उनीहरूको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ७७६२ नम्बरको मोटरसाइकलमा पछाडि सवार त्रिपुरासुन्दरी गाउँपालिका–३ का १४ वर्षीय जितबहादुर श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । 'दुवै मोटरसाइकलमा क्षति पुगेको छ, 'उनले भने । घटनास्थलमा लामोसाँघु प्रहरी चौकी र बाह्रबिसे इलाका प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।
