करिब ४ हजार लिटर तयारी घरेलु मदिरा तथा ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद ग
मकवानपुर — मकवानपुर प्रहरीले अवैध रूपमा सञ्चालन हुँदै आएको घरेलु मदिरा उत्पादन गर्ने उद्योगमा छापा मारेर ठूलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ।
आइतबार दिउँसो ४ बजे हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित जगतबहादुर घिसिङको जस्ताले बनेको घरमा अवैध रूपमा मदिरा उत्पादन भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले उक्त स्थानमा खानतलासी गर्दा करिब ४ हजार लिटर तयारी घरेलु मदिरा तथा ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको मकवानपुरका नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मदिरा उत्पादनमा प्रयोग हुने ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल तथा प्लास्टिकका ड्रम र बोतलहरू समेत नियन्त्रणमा लिइएको उनले बताए ।
घटनास्थलबाट मदिरा भट्टी सञ्चालक ६० वर्षीय जगत बहादुर घिसिङसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अन्यमा चितवन कालिका नगरपालिका–७ बस्ने २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ बस्ने १९ वर्षीय अजय लामा र चितवन कालिका नगरपालिका–९ बस्ने ३४ वर्षीय सुरेश प्रजा रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
