मकवानपुर भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिकाको बगुवास्थित बागमती नदीमा पुलको निर्माणको काम धमाधम भइरहेको हो ।
हेटौंडा — हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथ अन्तरगत बागमती नदीमा पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ ।
मकवानपुर भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिकाको बगुवास्थित बागमती नदीमा पुलको निर्माणको काम धमाधम भइरहेको हो । २ स्पानको पक्की पुल ९० मिटर लम्बाईको छ । ११ मिटर चौडाई रहेको उक्त पुलको निर्माण गर्न २०८० असार २७ मा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। २०८३ असार २६ सम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौता छ ।
कान्ति लोकपथ सडक आयोजनाका सूचना अधिकारी उपेन्द्र महरानले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको बताए । करिब १८ करोडको लागतमा निर्माण भइरहेको पुलको २५ प्रतिशत मात्र काम भएको छ ।
१३ वर्षअघि बागमतीमा निर्माण भएको पुल दुई वर्षअघि आएको बाढीले बगाएको थियो । त्यहाँ केही समयपछि ब्रेलिव्रिज हालिएको थियो । उक्त बेलिव्रिज नजिकै पक्की पुल निर्माण भइरहेको हो । ०८१ असोज ११ र १२ को बाढीले पुलसहित पहुँच मार्गसमेत बगाएको थियो ।
हेटौंडाको बुद्धचोकदेखि टीकाभैरवसम्म ७९ किलोमिटर लम्बाई रहेको कान्ति लोकपथको विभिन्न ठाउँमा कटिङ गर्ने, रिटेनिङवाल लगाउने, कालोपत्र गर्ने काम पनि भइरहेको छ । कान्ति लोकपथको अधिकांश भाग दुई लेनको बनाउने काम भइरहेको सूचना अधिकारी महरानले बताए । कान्ति लोकपथ मकवानपुरतर्फ ४० किलोमिटर पर्छ भने ललितपुरतर्फ ३९ किलोमिटर पर्छ । निर्माणाधीन वागमती पुल हेटौंडाबाट ४० किलोमिटरको दुरीमा पर्छ ।
