तरकारीमा ‘कल्व रुट’ले मकैबारीका किसानलाई हैरानी

रायोको सागदेखि काउली, बन्दालगायतका तरकारीमा ३/४ वर्षयता यो रोगको समस्या भोग्दै आएका छन् ।

चैत्र २८, २०८२

केदार शिवाकोटी

'Culv rot' in vegetables worries corn farmers

What you should know

दोलखा — तरकारी पकेट क्षेत्रका रुपमा रहेको भीमेश्वर नगरपालिका–७ मकैबारीका किसान ‘कल्व रुट’ (गाँठे रोग)ले बाली सखाप हुन थालेपछि चिन्तामा परेका छन् । 

रायोको सागदेखि काउली, बन्दालगायतका तरकारी खेतीमा व्यावसायिक रुपमा संलग्न किसानहरुले ३/४ वर्षयता यो रोगको समस्या भोग्दै आएका छन् । जसका कारण तरकारी बारीमै ओइलाउने गर्दा लगानी अनुसार प्रतिफल आउन नसकेको उनीहरुको गुनासो छ । रोगका कारण वैकल्पिक खेतीतर्फ जाने सोचमा पुगेको स्थानीय किसानको भनाइ छ ।

मकैबारीबाट मात्रै रायो साग मात्रै वार्षिक ३ करोड रुपैयाँ भन्दा बढीको निकासी हुँदै आएको छ । तर ‘कल्व रुट’ रोगले बोट पहेंलो भएर ओइलाउँदै जाने गर्दा घाटा व्यहोर्नु परेको स्थानीय कल्पना राउतले बताइन् । रोगका कारण यो वर्ष रायोको उत्पादन घटेको उनले बताइन् । ‘रायोको जरामा गाँठैगाँठा लाग्यो, बढेपछि टिप्ने बेलामा सबै पहेंलो भएर ओइलाएर मर्यो,’ उनले भनिन्, ‘आम्दानी हुन्छ भनेर बीउ, मलखादमा लगानी गर्छौं । आम्दानी लिने बेला रोगले नोक्सानी गरिदिन्छ ।’

उनले रायोको साग मात्रै वर्षमा २ लाख ५० हजार जतिको बेच्ने गरेको बताइन् । रायोको साग एकै बोटबाट फकर फरक समयमा ६ पटकसम्म टिप्न मिल्छ भने अन्तिममा यसको डुकु पनि बिक्री हुने गरेको राउतले बताइन् । साग, तरकारी खेतीबाटै राउतले घरखर्चदेखि छोराछोरीलाई उच्च शिक्षाका लागि विदेशसमेत पठाएको बताइन् ।

पछिल्लो समयमा रायो, मुला र गाँजरबाहेक काउली बन्दालगायतमा पनि गाँठे रोग देखिएको उनले बताइन् । ‘तरकारी खेतीमा रोग लागेपछि माटाको परीक्षण पनि गराए, चक्रिय बाली पनि लगाए,’ उनले भनिन्, ‘समस्या ज्यूँकात्यूँ छ, तरकारी खेती गर्ने बेलामा सहकारीबाट ऋण लिएर लगाउने र त्यसैको उत्पादनले तिर्ने गरेको थिए, तर रोगले हैरानी दियो, लगानी उठाउन मुस्किल छ ।’ 

'Culv rot' in vegetables worries corn farmers

मकैबारीका मात्रै २ सय परिवार तरकारी खेतीमा आवद्ध छन् । मकैबारीलाई तरकारी खेतीको पकेट क्षेत्रकारुपमा विकास गरिएको छ । यहाँका हरेक परिवारको मुख्य आम्दानीको स्रोत तरकारी खेती हो । यहाँका सबै किसानको बारीमा गाँठे रोगको प्रकोप देखिएको छ ।

यो रोगले तरकारीको जरामा गाँठो पलाएर जाने र पहेंलो भएर ओइलाउने गरेको मकैबारीकै अर्का किसान मानबहादुर तामाङले बताए । ‘बारीमा हेरौं हेरौं लाग्ने बेलाको रायो, काउली हेर्दाहेर्दै पहेंलो भएर ओइलाउँछ,’ उनले भने, ‘३/४ वर्षदेखि रोगले दुःख दिएको छ, लगानी अनुसारको आम्दानी लिन सकेको छैन्, उत्पादन घट्दो छ ।’ रोग निवारणका लागि माटो परीक्षण गराए पनि खासै उपलब्धि नभएको उनले बताए । वार्षिक ३ लाख जतिको आलु, काउली, रोयो बेच्ने गरेका उनले रोग बढेयता आम्दानी घटेको बताए ।

भीमेश्वर नगरपालिका–७ मात्रै ३ सय बढी किसान तरकारी खेतीमा आवद्ध छन् । यहाँबाट वार्षिक १३ करोड बराबरको तरकारीजन्य वस्तु निकासी हुने गरेको तथ्यांक छ । त्यसमध्ये सबैभन्दा बढी मकैबारीबाट निकासी हुने गरेको छ । अनियन्त्रित विषादी र रासायनिक मल प्रयोगले यहाँ माटोको अम्लीयपन बिग्रिएको परीक्षणमा देखिएको भीमेश्वर नगरपालिकाकी कृषि शाखा प्रमुख शान्ति आचार्यले बताइन् ।

किसानका बारीमा समस्या देखिएपछि एक सय भन्दा बढी बारीको माटो परीक्षण गरिएको उनले बताए । परीक्षणका क्रममा यहाँको माटोमा ५ दशमलव ६ बिन्दुमा माटोको अम्लीयन पाइएको उनले बताइन् । सामान्यतया माटोमा ७ दशमलव २ बिन्दु भएको माटोलाई स्वस्थ्य माटो मानिने उनले बताइन् । जसका कारण माटोमा ढुसी पलाएर (कल्व रुट)गाँठे रोग लाग्ने गरेको उनले सुनाइन् । ‘माटोमा परीक्षणमा ५ दशमल ६ प्रतिशत खारिय हुनु भनेको अम्लीय हुनु हो, माटोको खारिय ७ दशमलवबाट माथि भएमा स्वस्थ मानिन्छ,’ उनले भनिन्, ‘यो रोगको पूर्ण निवारणको लागि अम्लीय घटाउन कृषि चुनको प्रयोग र चक्रीय बाली उत्तम विकल्प हो ।’ चक्रीय बाली लगाएमा कम्तीमा १० वर्षमा माटोको अम्लीयपन घटाउन सकिने उनले बताइन् । 

व्यवसायिक किसान भएको त्यो सम्भावना निकै कम भएकाले सबै किसानलाई कृषि चुन प्रयोग गर्न आग्रह गरेको आर्चायले बताइन् । ‘माटोमा ढुसी बनेर गाँठे रोग सुरु हुन्छ, त्यसलाई न्यूनीकरण गर्न जसमा लाग्यो अन्यन्त्र सर्न नदिन उखेल्ने र त्यसलाई सुरक्षित रुपमा नष्ट गर्ने विधि नै हो,’ उनले भनिन्, ‘यो रोग लागेको बोट गाईवस्तुलाई पनि खान नदिनु भनेका छौं, सरुवा रोग भएकाले यस्लाई सुरक्षित रुपमा नष्ट गर्न भनेका छौं ।’ हालसम्म नियन्त्रणका लागि कुनै विषादी नबेकाले किसानलाई अनिवार्य रुपमा बाली लगाउँदा कृषि चुन प्रयोग गर्न सिफारिस गरिएको उनले बताइन् । एक वडा एक व्यावसायिक खेती कार्यक्रम अन्तर्गत किसानलाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर कृषि चुन वितरण गर्ने तयारी पनि गरिएको भीमेश्वर–७ का अध्यक्ष विनोद तामाङले बताए । 

केदार

Link copied successfully