बाह्रबिसे–धुस्कुन–पिस्कर सडक कालोपत्र अलपत्र: स्थानीयलाई सास्ती, जनप्रतिनिधि वाक्क

निर्माण कम्पनीको लापरबाहीले सडकको काम वर्षौंदेखि अधुरो हुँदा स्थानीय धुलो र हिलोले कष्टकर यात्रा गर्न बाध्य छन्।

चैत्र २८, २०८२

अनिश तिवारी

Blacktop of Bahrabise-Dhuskun-Piskar road left unfinished: Locals suffer, public representatives upset

What you should know

सिन्धुपाल्चोक — गर्मीयाममा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने बाह्रबिसे–धुस्कुन–पिस्कर सडकखण्ड वर्षौंदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा हैरानीमा परेका छन्। निर्माण कार्य सुस्त मात्रै होइन, कतिपय खण्डमा पूर्ण रूपमा रोकिँदा जनप्रतिनिधिसमेत असन्तुष्ट बनेका छन्।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराका अनुसार ठेकेदार पक्षलाई पटक–पटक ताकेता र चेतावनी दिए पनि काममा बेवास्ता गर्दै आएको छ। 'हामीले धाउँदाधाउँदै कार्यकाल सकिन लाग्यो, तर ठेकेदारले भोलि गर्छौं भन्ने मात्रै गरेको छ,' उनले भने। उनका अनुसार सडकको अवस्था दयनीय हुँदा स्थानीयले कष्टकर यात्रा गर्न बाध्य छन्।

शनिबार जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ, गाउँपालिका अध्यक्ष बोहरा, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रकाश पौडेल, वडाध्यक्ष शिवकुमार कार्की लगायतले संयुक्त अनुगमन गरेका थिए। अनुगमनका क्रममा सडकमा खाल्डाखुल्डी, भास्सिएको भूभाग र पहिरोका कारण जोखिम बढेको तथा निर्माण कार्य अलपत्र छाडिएको निष्कर्ष निकालिएको थियो।

बागमती प्रदेश सरकारअन्तर्गत १७ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रको जिम्मा कान्छाराम कन्स्ट्रक्सन कम्पनीले २०७७ पुसमा लिएको थियो। ३९ करोड ४० लाख रुपैयाँ लागतमा दुई वर्ष दुई महिनाभित्र काम सक्ने सम्झौता भए पनि तीन पटक म्याद थपिँदा पनि प्रगति सन्तोषजनक छैन।

निर्माण कम्पनीले काम ढिलाइ गर्दा पूर्वाधार विकास कार्यालयले स्पष्टीकरण माग गर्दै सात दिनभित्र चित्तबुझ्दो जवाफ नदिए ठेक्का तोड्ने, कालोसूचीमा राख्ने र जमानत रकम जफत गर्ने चेतावनी दिएको छ।

कार्यालयका अनुसार ठेकेदारको निरन्तर लापरबाहीका कारण निर्माण समयमै सम्पन्न हुन सकेको छैन। पूर्वाधार कार्यालयका अनुसार ठेकेदार कम्पनीले २०७७ असार १२ देखि कार्य प्रारम्भ गरे पनि पटक–पटक म्याद थप गराउँदै आएको छ। स्थानीय सरकार, समुदाय र सरोकारवालाले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको छ । पूर्वाधार कार्यालय प्रमुख प्रकाश पौडेलले भने, 'अब थप ६ महिना कुर्ने र सो अवधिमा काम नभए ठेक्का रद्द गर्ने तयारी छ। ढिलाइका कारण करिब ४ करोड रुपैयाँसम्म जरिवाना लाग्ने र दैनिक २० लाख रुपैयाँसम्म हर्जना तिर्नुपर्ने अवस्था आउनेछ ।'

निर्माण कम्पनीका प्रतिनिधि प्रकाश ढकालले भने विभिन्न कारणले काममा ढिलाइ भएको स्वीकार्दै असारसम्म केही प्रगति देखाउने दाबी गरे। 'क्रसर र सामग्री व्यवस्थापन गरेर काम अघि बढाउने तयारी छ,' उनले भने।

स्थानीयका अनुसार डेढ वर्षसम्म आधारभूत काम मात्रै भएको र त्यसयता प्रायः काम ठप्प छ। ठेकेदार सम्पर्कविहीनजस्तै भएपछि सडक निर्माण पूर्णरूपमा रोकिएको उनीहरूको गुनासो छ। सडकको दुर्दशाले आवागमन, व्यापार तथा विकासका गतिविधिमा प्रत्यक्ष असर परेको स्थानीय बताउँछन्।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully