बनेपामा १३ कन्सल्टेन्सीको अनुगमन : २ वटामा तालाबन्दी

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेकी प्रमुख सबिता दंगालका अनुसार, अनुगमन टोलीले बनेपाका विभिन्न स्थानमा सञ्चालित १३ वटा एजुकेशनल कन्सल्टेन्सीको निरीक्षण गरेको थियो ।

चैत्र २७, २०८२

ज्योती श्रेष्ठ

Monitoring of 13 consultancies in Banepa: 2 locked down

What you should know

काभ्रे — काभ्रेपलाञ्चोकको बनेपा क्षेत्रमा सञ्चालित शैक्षिक परामर्श (एजुकेशनल कन्सल्टेन्सी) संस्थाहरूको अनुगमन गरिएको छ । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रे र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा अधिकांश कन्सल्टेन्सी बिनाअनुमति सञ्चालन भइरहेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेकी प्रमुख सबिता दंगालका अनुसार, अनुगमन टोलीले बनेपाका विभिन्न स्थानमा सञ्चालित १३ वटा एजुकेशनल कन्सल्टेन्सीको निरीक्षण गरेको थियो । त्यस क्रममा ६ वटा कन्सल्टेन्सी मात्रै कानुनी रूपमा सञ्चालनमा रहेको पाइएको छ भने २ वटा कन्सल्टेन्सीले स्वीकृति नलिई सेवा प्रदान गरिरहेको भेटिएको उनले बताइन् । उनका अनुसार, बिनाअनुमति सञ्चालन भइरहेको तर अनुगमनमा पुग्दा आएल्ट्स घर बनेपा, सुपर लाइफ एडुकेश्नल कन्सल्टेन्सी, मभेन कन्सल्टिङ ग्रुप, बज्यु इन्टरनेशनल एकेडेमी र सार्प एडुकेशन बनेपा कार्यालयमा ताला लगाएर भागेको पाइएको थियो ।

बिनाअनुमति सञ्चालन भइरहेको एसएस डब्बलु निहन ड्रीम सेन्टर र ग्रीन माउन्टेन एडुकेसन कन्सल्टेन्सीमा भने अनुगमन टोलीले कार्यालयमा ताला लगाएको थियो । त्यस्तै, यूएनएमइआई एडुकेसन एण्ड कन्सल्टिङ सेन्टर, हाचिको ल्याङवेज एण्ड ट्रेनिङ सेन्टर प्रा लि, बनेपा एस वाई कन्सल्ट्यान्स, कृप्टन एडुकेश्नल कन्सल्टेन्सी , सोरा इन्टरनेशनल एडुकेशन इन्स्टिच्युट प्रा.लि, बि एण्ड बि कन्सल्टेन्सी अनुमती प्राप्त भएर संचालनमा रहेका पाइएको उनले बताइन् । 

जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रशासकीय अधिकृत सुनिता थापाका अनुसार, ती कन्सल्टेन्सीहरूलाई आवश्यक प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न नदिने स्पष्ट निर्देशन दिइएको छ । यस्तै, ५ वटा कन्सल्टेन्सीका सञ्चालकहरू अनुगमन टोली पुग्दा कार्यालय बन्द गरेर सम्पर्कविहीन भएको पाइएको छ, जसका कारण ती संस्थामाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully