भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउन जोड

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.ढुण्डीराज पौडेलले चिकित्सा सेवा र शिक्षा एकअर्काका परिपूरक भएका कारण चिकित्सा सेवाको क्षमता बढाउन अस्पताललाई शैक्षिक संस्थाका रूपमा अगाडि लैजानुपर्ने बताएका छन् ।

चैत्र २६, २०८२

रमेशकुमार पौडेल

Push to convert Bharatpur Hospital into a medical college

What you should know

चितवन — भरतपुर अस्पतालले आफ्नो ७० औं स्थापना दिवस मनाएको छ । ६ सय शय्या सञ्चालनमा रहेको यो सरकारी अस्पतालाई मेडिकल कलेज बनाउन सकिने पूर्वाधार पर्याप्त छन् । तर मेडिकल कलेज बनाउने चर्चा चलेको वर्षौं बितिसक्दा पनि उक्त कार्य कार्यान्वयनमा आउन सकेको छैन । 

बुधबार सम्पन्न स्थापना दिवस कार्यक्रममा अधिकांश वक्ताले अस्पताललाई मेडिकल कलेज बनाउनुपर्ने जोड दिए । ‘चर्चा चल्दै आए पनि मेडिकल कलेज बनाउने कुरा असफल भएको छ । सबै पूर्वाधार र जनशक्ति रहेको यो अस्पताल व्यवस्थापन राम्रो नभए बिग्रन सक्छ । प्रमुख पार्टी र नेताहरू नलागे यो अस्पताल अस्पतालसम्म रहला, मेडिकल कलेज बन्दैन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.कृष्णप्रसाद पौडेलले भने । डा.पौडेलको ठाउँमा नयाँ मेसु नियुक्त भए पनि उनी अझै हाजिर हुन आएका छैनन् । 

अस्पतालको नयाँ मेसुका रूपमा हप्ता दिनअघि नै डा.विश्ववन्धु बगाले नियुक्त भएको खबर सार्वजनिक भएको थियो । अस्पताल स्थापना भएको ७० वर्ष लागेको, नेपालको मध्यभागमा अवस्थित र धेरैखाले रोगको उपचार दिँदै आएको अस्पतालको वार्षिकोत्सव समारोह निकै सामान्य रूपमा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा ४ लाख ३१ हजार ५ सय ९५ जना बिरामी अस्पतालको बहिरंग सेवा (ओपीडी)मा आएको अस्पतालको तथ्याङ्क छ ।

दिनमै ३ हजारसम्म बिरामी ओपीडीमा आउने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यसै गरी आकस्मिक कक्षमा गत आर्थिक वर्षमा ७४ हजार ३ सय १० बिरामी उपचारका लागि आएका थिए । २६ हजार बिरामी भर्ना भएर अस्पतालमा उपचार गराएका थिए । अस्पतालको बेड अक्युपेन्सी दर ९३ प्रतिशत रहेको अस्पतालले प्रकासशन गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.ढुण्डीराज पौडेलले चिकित्सा सेवा र शिक्षा एकअर्काका परिपूरक भएका कारण चिकित्सा सेवाको क्षमता बढाउन अस्पताललाई शैक्षिक संस्थाका रूपमा अगाडि लैजानुपर्ने बताए । यस अस्पताललाई शैक्षिक संस्थाका रूपमा सञ्चालन गर्न कानुनी प्रबन्ध गर्नुपर्ने उनको भनाइ छ । उनले मौलिक प्रकारको चिकित्सा अध्ययन संस्थान बनाउन सकिने बताए ।

‘फजुल खर्च, बेथिति र आर्थिक भार नहुने गरी विसङ्गतिहरूको गुञ्जायस नभएको मौलिक प्रकारको चिकित्सा शास्त्र संस्थान स्थापना गर्न कानुन निर्माण होस् भनेर म सबैमा अनुरोध गर्छु,’ अध्यक्ष डा.पौडेलले भने । अन्य प्रतिष्ठानप्रति निर्भर रहने नभएर यसै अस्पताललाई नै राष्ट्रिय चिकित्सा विज्ञान संस्थाका रूपमा स्थापित गर्न उनले जोड दिए । 

चितवन जिल्ला विकास समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारीले चितवनको मात्रै नभएर छिमेकका धेरै जिल्लाका बिरामीको आशाको केन्द्र यो अस्पताल रहेको बताए । अस्पतालले चितवनसहित वरपरका कम्तीमा १९ जिल्लाका बिरामीलाई सेवा दिादै आएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully