हेटौंडा उपमहानगरपालिका–२ स्थित उपमहानगरपालिकाको सभा हलमा प्रदेशसभा बैठक बस्न लागेको हो।
What you should know
हेटौंडा — बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आइतबारको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
उक्त सिफारिसको आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १७ औं अधिवेशन आव्हान गरेका हुन् । हेटौंडा उपमहानगरपालिका–२ स्थित उपमहानगरपालिकाको सभा हलमा प्रदेशसभा बैठक बस्न लागेको छ।
जेन–जी आन्दोलनको त्रममा प्रदेशसभाको हेटौंडा उपमहानगरपालिका–१० स्थित भवनमा आगजनी गरिएको थियो। जेनजी आन्दोलनको क्रममा प्रदेशसभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौंडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रुपमा बैठक सञ्चालन गर्नका लागि उक्त भवनको मर्मत सम्भार कार्य गरिएको छ ।
जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालनको तयारी गरेको हो । आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवनको अधिकांश भाग जलेका थिए । प्रिफ्याबबाट निर्माण गरिएको उक्त भवन पुर्ननिर्माण गरी बैठकको तयारी गरिएको छ ।
हेटौंडा उपमहानगरपाालिका-१० मा करिब १२ करोड लागतमा निर्माण गरिएको प्रदेशसभाको नवनिर्मित भवन जेन-जी आन्दोलनका क्रममा आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
सरकारले प्रादेशिक संरचनाका लागि जग्गा प्राप्तिपश्चात् एकै स्थानमा आवश्यक भवन निर्माण गर्ने तयारी गरेका कारण प्रदेशसभाका भवन निर्माण प्रक्रिया अगाडि नबढाएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षकै बजेटबाट प्रदेशसभाका भवनसहित प्रादेशिक संरचना एकै स्थानमा निर्माण सुरु गरिनेछ । प्रदेशसभाको यसै अधिवेशन सुरु भएको दुई साताभित्र सभामुख चयन गरिने प्रवक्ता तामाङले जानकारी दिए । बागमती प्रदेशसभामा ११० जनामध्ये फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन ६ जनाले राजीनामा दिएकाले अब १०४ जना प्रदेशसभा सदस्य रहेका छन् ।
