५ महिनापछि बागमती प्रदेशसभा सक्रिय, मंगलबार सभामुख चयन प्रक्रिया सुरु

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १७औं अधिवेशन आह्वान गरेका हुन्।

चैत्र २४, २०८२

सुवास विडारी

Bagmati Provincial Assembly becomes active after 5 months, Speaker selection process begins on Tuesday

मकवानपुर — बागमती प्रदेशसभामा करिब पाँच महिनादेखि रिक्त रहेको सभामुख पदको चयन प्रक्रिया मंगलबारबाट अगाडि बढ्ने भएको छ । दिउँसो ४ बजे बस्ने हिउँदे अधिवेशनको मुख्य कार्यसूची नै नयाँ सभामुख चयन रहेको छ ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १७औं अधिवेशन आह्वान गरेका हुन्। 

बैठकका सम्पूर्ण तयारी पूरा भएको उपसभामुख अप्सरा चापागाईंले जानकारी दिइन् । उनका अनुसार अधिवेशनअघि दिउँसो १ बजे सर्वदलीय बैठक र २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । यी बैठकमार्फत अधिवेशनको एजेन्डा तय गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, सभाहललगायतका संरचनामा क्षति पुगेपछि लामो समयसम्म बैठक सञ्चालन हुन सकेको थिएन । 

सोही कारण अधिवेशन प्रभावित भएको थियो। मंगलबारको बैठक भने हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको सभाहलमा सञ्चालन गरिनेछ । आन्दोलनबाट क्षति पुगेपछि उक्त सभाहल पुनर्निर्माण गरिएको हो । 

प्रदेशसभाको स्थायी भवन निर्माण नभएसम्म यहीँबाट बैठक सञ्चालन गर्ने सरकारको तयारी छ । जेन–जी आन्दोलनकै क्रममा तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully