जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, सभाहलसहितका संरचना जलेपछि बैठक संचालन हुन सकेकाे थिएन ।
हेटौंडा — बागमती प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबारका लागि आव्हान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन आव्हान गरेका हुन् ।
प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको १७ औं अधिवेशन मंगलबार अपरान्ह ४ बजे आव्हान गरेका हुन् ।
प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको ५ महिनापछि सरकारले हिउँदे अधिवेशन आव्हान गरेको हो । गत मंसिर ३ मा प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेका थिए ।
जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, सभाहलसहितका संरचना जलेपछि बैठक संचालन हुन सकेकाे थिएन । जेन–जी आन्दोलनकै बीचमा प्रदेशसभाका तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा घोषणा गरेका थिए ।
असोज १ मा पाठकले प्रदेशसभामा लिखित राजीनामा पेश गरेका थिए । बैठक संचालन नगरी मंसिर ३ मा प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयपछि प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले सार्वजनिक सूचना जारी गर्दै सभामुखको राजीनामा बारे प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएकी थिइन् ।
