बागमतीको बजेट अधिवेशन मंगलबारबाट

जेन-जी आन्दोलनको क्रममा प्रदेशसभाको हेटौंडा–१० स्थित भवनमा आगजनी गरिएको थियो । प्रदेशसभाको आगामी बैठक बस्ने भवनमा पनि आगजनी भए पनि मर्मत गरिएको छ ।

चैत्र २२, २०८२

सुवास विडारी

Bagmati's budget session begins on Tuesday

मकवानपुर — बागमती प्रदेशसभाको बजेट अधिवेशन मंगलबारबाट सुरु हुने भएको छ । आइतबारको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चैत २४ गते मंगलबार दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेशसभाको बैठक हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको सभा हलमा बस्दैछ । 

जेन-जी आन्दोलनको क्रममा प्रदेशसभाको हेटौंडा–१० स्थित भवनमा आगजनी गरिएको थियो । प्रदेशसभाको आगामी बैठक बस्ने भवनमा पनि आगजनी भए पनि मर्मत गरिएको छ ।

सरकारले प्रादेशिक संरचनाका लागि जग्गा प्राप्तिपश्चात् एकै स्थानमा आवश्यक भवनहरु निर्माण गर्ने तयारी गरेका कारण प्रदेशसभाका भवन निर्माण प्रक्रिया अगाडि नबढाएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षकै बजेटबाट प्रदेशसभाका भवनसहित प्रादेशिक संरचना एकै स्थानमा निर्माण सुरु गरिनेछ ।

प्रदेशसभाको यसै अधिवेशन सुरु भएको दुई हप्ताभित्र सभामुख चयन गरिने प्रवक्ता तामाङले जानकारी दिए । उनले सभामुखको विषयमा सत्तारुढ दल कांग्रेस–एमालेबीच सहमति भइसकेको दाबी गरे । प्रदेश सरकारको नेतृत्वको विषयमा सत्तारुढ दलबीच दुरी बढिरहेको दाबी गरिरहेको समयमा तामाङले संविधानको व्यवस्था अनुसार प्रदेशसभाको बैठक बसेको मितिले १५ दिनभित्रमा सभामुख चयन हुने दाबी गरे । ‘सभामुखको विषयमा सहमति भइसकेको छ’, उनले दाबी गरे ।

राप्रपाबाट यसअघि सभामुख चयन भएका भुवन पाठकले जेन-जी आन्दोलनपश्चात् पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ । कांग्रेसभित्रको विवादकाबीच संसदीय दलको नेता हुँदै इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेपश्चात् पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको हो । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully