मुसा धपाउन बालिएको आगोबाट १० बाख्रा जले, गोठ नष्ट

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

चैत्र २०, २०८२

सुवास विडारी

10 goats burned, barn destroyed in fire set to drive away rats

मकवानपुर —  

हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा मुसा धपाउन गोठ नजिक बालिएको आगो अनियन्त्रित भई फैलिँदा ठूलो क्षति भएको छ । आगलागीका कारण स्थानीय सानुकाजी स्याङबोको काठ र जस्ताले बनेको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चैत १९ गते बिहीबार साँझ करिब १९:१५ बजे भएको उक्त आगलागीमा १ वटा गाईको बाछी जलेर घाइते भएको छ भने १० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक गौरीशंकर साहको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो करिब १९:४० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार मुसा धपाउनका लागि बालिएको आगो अनियन्त्रित भई फैलिँदा उक्त आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थल प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully