स्थानीय ५/६ जना मिलेर बिजुलीको पोल गाड्ने क्रममा उक्त पोलमाथिको हाइटेन्सन लाइनमा छोएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ
मकवानपुर — मकवानपुरको गढी गाउँपालिका–२, मोरेगाउँमा बिजुली विस्तारका लागि फलामको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्थानीय ५/६ जना मिलेर बिजुलीको पोल गाड्ने क्रममा उक्त पोलमाथिको हाइटेन्सन लाइनमा छोएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल, हेटौंडा पठाएको थियो ।
उपचारका क्रममा मकवानपुरगढी गाउँपालिका–२, मापुङ बस्ने अन्दाजी ३०/३५ वर्षीय राजकुमार गोलेलाई साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेको थिए ।
त्यसैगरी, मकवानपुरगढी गाउँपालिका–७, सानडाँडा बस्ने अन्दाजी ५०/५५ वर्षीय मानबहादुर गोलेको अवस्था मध्यम रहेको छ भने मकवानपुरगढी गाउँपालिका–२, मोरे बस्ने अन्दाजी ३० वर्षीय राजकुमार स्याङ्तानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
