गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

रामेछापको मन्थली–१ की ३५ वर्षीया गर्भवती बेलीमाया तामाङलाई मंगलबार मन्थली अस्पतालबाट हेलिकप्टरमार्फत आपतकालीन उद्धार गरिएको हो ।

चैत्र १७, २०८२

प्रताप विष्ट

Pregnant woman rescued by helicopter

हेटौंडा — बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाको पहलमा रामेछापबाट गर्भवती एक महिलाको हेलिकप्टरबाट आपतकालीन उद्धार गरिएको छ । 

रामेछापको मन्थली–१ की ३५ वर्षीया गर्भवती बेलीमाया तामाङलाई मंगलबार मन्थली अस्पतालबाट हेलिकप्टरमार्फत आपतकालीन उद्धार गरिएको हो । 

मन्थलीको अस्पतालमा पाँच दिनसम्म उपचार भएको र मंगलबार पेटको बच्चा नचलेका कारण तत्कालै उपचार गर्नुपर्ने भएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक डा. नरेन्द्रकुमार झाले बताए । ‘मन्थली अस्पतालका स्वास्थ्यकर्मीहरूसँग समन्वय गरेर हेलिकप्टरमार्फत उद्धार गरी स्त्री तथा प्रसूति रोग अस्पताल थापाथली काठमाडौंमा पुर्‍याएर अहिले उपचार भइरहेको छ,’ उनले भने । 

बागमती प्रदेश सरकारले दुर्गम क्षेत्रका गम्भीर अवस्थाका गर्भवती एव सुत्केरी महिला र नवजात शिशुलाई हेलिकप्टरमार्फत आपतकालीन उद्धारको व्यवस्था विगत २ वर्षदेखि गर्दै आएको छ । गत आवमा दोलखा र रामेछापका तीन जना सुत्केरी महिलाको स्वास्थ्य निर्देशनालय हेटौंडा र सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयको समन्वयमा उद्धार गरिएको थियो । चालु आवमा २ दुई जनाको उद्धार गरिएको निर्देशक डा. झाले जानकारी दिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully