चैत १९ गते बिहीबारसम्म यो सडक खण्ड रातको समयमा ६ घण्टा बन्द हुने छ ।
चितवन — पृथ्वीराजमार्गको मुग्लिन-मलेखु खण्ड मंगलबार राति १० बजेदेखि बिहानपख ४ बजेसम्म बन्द हुने भएको छ । चैत १९ गते बिहीबारसम्म यो सडक यसरी रातको समयमा ६ घण्टा बन्द हुने छ ।
यो बेला बस र ट्रकहरुलाई फरक फरक ठाउँमा रोक्ने तयारी छ । नागढुंगा-मलेखु-मुग्लिन सडक विस्तारको क्रममा छ । यही विस्तारको कामका लागि सडक बन्द हुन लागेको हो ।
नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डको इच्छाकामना गाउँपालिका–४ मुग्लिन नजिक भित्ता काट्ने कामका लागि बाटो बन्द गर्नु परेको योजनाको पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए । उनका अनुसार चितवन हुँदै काठमाडौं जाने बसलाई जुगेडी र दासढुंगा आसपासमा रोकिने छन् । पोखराबाट काठमाडौं जाने बसहरु आँबुखैरनीमा रोकिने मिश्रले बताए ।
त्यसैगरी काठमाडौंबाट चितवन या पोखरातर्फ आउन लागेका बसहरु फिस्लिङ, कुरिनटार र लेवाटार आसपासमा रोकिने छन् । त्यसैगरी काठमाडौं जान चितवन हुँदै हिँडेका ट्रकहरु गैंडाकोट, टाँडी, गोन्द्राङ, रामनगर र पोखराबाट काठमाडौं जाने ट्रकहरु विमलनगरमा रोकिने छन् । काठमाडौंबाट छुटेका ट्रकहरु विशालटार र मझिमटार आसपासमा रोकिने छन् ।
तीन वर्षमा सक्ने गरेर नागढुंगा मुग्लिन सडक योजनाको मलेखुदेखि मुग्लिनसम्म पर्ने पश्चिम खण्डको विस्तारको काम सन् २०२२ को डिसेम्बर ३० मा सुरु भएको थियो । गएको डिसेम्बरसम्म काम सक्नु पर्नेमा हालसम्म जम्मा ४१ प्रतिशत काम भएको सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए । काम नसकिएपछि १८० दिनको म्याद थप भएको छ ।
