हेटौंडामा प्रदेशस्तरीय कृषि प्रदर्शनीको तयारी पूरा

प्रदर्शनीमा निःशुल्क स्टल र कृषक एवं कृषि उद्यमीलाई खानबस्ने व्यवस्था पनि संघले गरेको छ ।

चैत्र १२, २०८२

प्रताप विष्ट

Preparations for provincial-level agricultural exhibition completed in Hetauda

हेटौंडा — कृषि उपजको उत्पादन, विविधिकरण तथा बजारीकरणमा मद्दत पुर्‍याउने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबारदेखि हेटौंडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला आयोजना गरेको छ । संघले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । 

संघका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार चार दिने प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला गर्न लागेको बताए । कृषकको मनोबल उठाउन र युवा शक्तिलाई कृषिमा आकर्षित गर्न प्रदर्शनी मेला गर्न लागेको उनले बताए ।  
हेटौंडा उपमहानगरपालिका-२ पल्पसा सभाहलको प्रांगणमा आयोजना गर्न लागेको प्रदर्शनीमा सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुरका कृषक तथा कृषि उद्यमीका ४० वटा स्टल रहने छन् । 

चार दिने मेलामा कोदो, जुनेलो, फापरको पिठो, तथा गेडागुडी र मह राखिने छ । यसैगरी मेलामा मसला, बाँसको गिलास, थर्मस, केराको चिप्स, सिमल तरुल, आलु, गुन्दुक, च्याउ, माछा र अल्लोबाट बनेका कपडा पनि बिक्रीका लागि राखिने संघले जनाएको छ । 

प्रदर्शनी मेलामा स्टलहरु निःशुल्क रुपमा उपलब्ध गराउने र स्टल राख्न आएका कृषक एवं कृषि उद्यमीलाई खाने र बस्ने व्यवस्था पनि संघले गरेको छ । करिब ६ लाख रुपैयाँको लगानीमा आयोजना  गर्न लागेको उक्त कृषि प्रदर्शनीका लागि बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकामार्फत ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । कृषि प्रदर्शनी मेलामा प्रवेश शुल्क नलाग्ने संघका अध्यक्ष रानाभाटले बताए । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully