एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा ५० जना विद्यार्थीको कोटा रहेकोमा हालसम्म ४७ जना भर्ना भइसकेको प्रतिष्ठानका प्रशासकीय अधिकृत सशिता दंगालले जानकारी दिइन् ।
What you should know
हेटौंडा — हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो वर्षबाट चिकित्सा शिक्षा (एमबीबीएस) को पढाई सुरु भएएको छ । एमबीबीएसको पहिलो व्याचमा अहिलेसम्म ४७ जना भर्ना भएका छन् । तीमध्ये ४ जना भारतीय छन् ।
नेपाली ४३ जना विद्यार्थीहरु नेपालका २८ जिल्लाबाट आएका छन् । सबैभन्दा बढी काठमाडौंका ५, ललितपुरका ४, कास्की र महोत्तरीका ३/३, अछाम, बारा, तनहुँ, पर्साबाट २/२ जना भर्ना भएका छन् । यसैगरी मकवानपुर, डडेलधुरा, दार्चुला, चितवन, दोलखा, बैतडी, बाजुरा, धनुषा, स्याङ्जा, रुपन्देही, डोटी, सुनसरी, सप्तरी, नवलपरासी, तेह्रथुम, कपिलवस्तु, धादिङ, बर्दिया, सिन्धुली, डोल्पा जिल्लाका १/१ जना पढ्न भर्ना भएको प्रतिष्ठानले जनाएको छ । भारतको महाराष्ट्र र बिहारका २/२ जना विद्यार्थी भर्ना भएका छन् ।
एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा ५० जना विद्यार्थीको कोटा रहेकोमा हालसम्म ४७ जना भर्ना भइसकेको प्रतिष्ठानका प्रशासकीय अधिकृत सशिता दंगालले जानकारी दिइन् । उनका अनुसार चैत ५ सम्म भर्ना तोकिए पनि अझै अन्य विद्यार्थीसित सम्पर्क भइरहेकोले विद्यार्थीको संख्या बढ्न सक्ने उनले बताइन् ।
एमबीबीएस कार्यक्रममा पहिलो दुई वर्ष विद्यार्थीले आधारभूत विज्ञान विषय अध्ययन गर्नेछन् । यसका लागि हाल यस प्रतिष्ठानमा २१ जना प्रध्यापक छन् । बाँकी अवधि क्लिनिकल साइन्सका लागि भने ५३ जना प्रध्यापक रहेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमरसिंह अधिकारीले बताए ।
एमबीबीएस कार्यक्रमसहित बिपिएच (जनस्वास्थ्य), बिएमएलटी (ल्याव मेडिसिन), बिएस्सी नर्सिङ र बि फार्मेसीलगायतका स्वास्थ्य विज्ञानका प्राज्ञिक कार्यक्रमका लागि समेत गरी १ सय १ जना प्राध्यापक रहेको समेत अधिकारीले जानकारी दिए । यीमध्ये ७ जना प्राध्यापकसहित वरिष्ठ कल्सन्टेन्ट विशेषज्ञहरु अध्यापनका लागि रहेका छन् । गत फागुन २५ मा औपचारिक रुपमा एमबीबीएस कार्यक्रमको सुरुवात गरिएकोमा एक साता आधारभूत कक्षा सञ्चालन गरिएको थियो । आइतबारदेखि नियमित कक्षा समेत सुरुवात भइसकेको प्रतिष्ठानले जनाएको छ ।
यस वर्ष एमडी कार्यक्रमका लागि ९ विषय थप गरिएको छ भने सिट संख्या ८ बाट बढाएर २७ पुर्याइएको छ । विसं २०७६ असोज २ मा ऐन पारित भएपछि स्थापना भएको प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धान र दक्ष चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
