हेटौंडा यातायातका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनुसन्धानका क्रममा अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलको आपसी मिलेमतो र पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

चैत्र १२, २०८२

प्रताप विष्ट

Corruption case against two people, including Hetauda transport officer

हेटौंडा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौंडाका अधिकृत (छैटौं) अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सवारी साधनको सरुवा सहमति बनाइदिने भन्दै सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध बिहीबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

यसअघि हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लेखापढी व्यवसायी पौडेलले सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा दुवै जनालाई फागुन १३ गते नियन्त्रणमा लिएको थियो । उनीहरू अहिले पनि अख्तियारकै नियन्त्रणमा छन् । 

अनुसन्धानका क्रममा अधिकृत भेटुवाल र पौडेलको आपसी मिलेमतो र पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको अख्तियारले जनाएको छ । आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५ सय रुपैयाँ नै बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully