भरतपुर महानगरको विकास खर्च एक चौथाई मात्र

पुँजीगत बजेट २ अर्ब ६० करोड ७७ लाख ६८ हजार ११९ रुपैयाँ रहेकोमा हालसम्म ६५ करोड ८५ लाख ८५ हजार ६७० रुपैयाँ खर्च भएको छ।

चैत्र १२, २०८२

रमेशकुमार पौडेल

Bharatpur Metropolitan City's development expenditure is only one-fourth

What you should know

चितवन — चालु आर्थिक वर्षको दुई तिहाई समय अर्थात आठ महिना सकिँदा भरतपुर महानगरपालिकाले विकास बजेट (पुँजीगत खर्च)को एक चौथाई मात्र खर्च गर्न सकेको छ । 

महानगरले दोस्रो चौमासिक अवधिमा सम्पन्न गरेका योजना तथा कार्यक्रम र सेवा प्रवाहका बारेमा जानकारी दिन बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले पुँजीगत बजेट २ अर्ब ६० करोड ७७ लाख ६८ हजार ११९ रुपैयाँ रहेकोमा हालसम्म ६५ करोड ८५ लाख ८५ हजार ६७० रुपैयाँ खर्च भएको जानकारी दिए ।

जुन रकम पुँजीगत बजेटको २५ दशमलब २५ प्रतिशत हुन्छ । चालु बजेट २ अर्ब ५८ करोड ८९ लाख ४७ हजार ८८१ रहेकोमा ४९ दशमलब २ प्रतिशत खर्च भएको छ । ‘चालु आर्थिक वर्षका लागि अनुमानित बजेट ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ रहेकोमध्ये हालसम्म १ अर्ब ९३ करोड २३ लाख ६ हजार ६९८ रुपैयाँ खर्च भएको छ । यो बजेटको ३७ दशमलब १८ प्रतिशत मात्र खर्च हो,’ भारतीले भने । त्यसैगरी राजश्व तर्फ ३७ दशमलब ९२ प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा महानगरले आन्तरिक राजश्वतर्फ ९३ करोड १५ लाख रुपैयाँ र विभाज्यतर्फ ८६ करोड ८५ लाख गरी १ अर्ब ८० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये फागुनसम्म आन्तरिकतर्फ ५२ दशमलब २१ प्रतिशत अर्थात ४८ करोड ६३ लाख १८ हजार ४४३ रुपैयाँ राजश्व संकलन भएको छ । विभाज्यतर्फ २२ दशमलब ६० प्रतिशत प्रगति भएको छ ।

महानगरको मुख्य तथा गौरवको आयोजनाका रुपमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको भौतिक प्रगति ४५ प्रतिशत पुगेको प्रमुख प्रशासकीय अधिकृत भारतीले जानकारी दिए । रंगशाला निर्माणमा ३४ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । तर बागमती प्रदेश सरकारले दिने रकम हालसम्म पनि निकासा नभएको भारतीयले सुनाए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully