करेन्ट लागेर गोलेको घटनास्थलमै मृत्यु भएको थियो ।
हेटौंडा — मकवानपुरमा करेन्ट लागेर एक जनप्रतिनिधिको मृत्यु भएको छ । बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो ।
वडा समितिको नियमित बैठकमा सहभागी हुन बकैया–११, पिपलडाँडास्थित घरबाट आँपचौरस्थित वडा कार्यालय जाँदै गरेका गोलेको घरदेखि २ सय मिटर टाढा बाटोमा चुँडिएर लत्रिएको बिजुलीको तारमा परेर करेन्ट लागेको वडाध्यक्ष गोपाल न्यासुरले बताए ।
४२ वर्षीय गोले २०७४ र २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए । ‘हावाहुरीका कारण बिजुलीको तार चुँडिएर लत्रिएको रहेछ । वडाको बैठकमा सहभागी हुन आउँदै गर्दा करेन्ट लागेको हुन सक्छ,’ वडाध्यक्ष न्यासुरले भने,‘त्यहिँ बाटो भएर हिडेका विद्यार्थी र स्थानीयवासीले देखेपछि मात्रै उक्त घटना जानकारीमा आएको हो ।’
करेन्ट लागेर गोलेको घटनास्थलमै मृत्यु भएको थियो । गोलेको श्रीमती र ७ महिनाकी छोरी छिन् । पोष्टमार्टमको लागि गोलेको शव हेटौंडा ल्याइएको छ ।
