बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’बन्ने 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिएका छन् ।

चैत्र ८, २०८२

रासस

'One District, One Healthy City' to be created in 13 districts of Bagmati

What you should know

भक्तपुर — बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिए । 

यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका निकायलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको उनले जानकारी दिए । अभिमुखीकरणअनुसार आवश्यक तयारी थाल्न उनले सरोकार भएका सबैलाई निर्देशन दिएको बताए । 

प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पुर्‍याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गरिएको मन्त्री थापामगरले उल्लेख गरे ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरको पहिचान गरी प्रत्येक जिल्लालाई स्वस्थ्य सहर निर्माण गरी स्वस्थ्य नागरिक बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको धारणा राखे । 

उनले बागमतीलाई स्वास्थ्य क्षेत्रमा नमूना प्रदेश बनाउने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई व्यवहारिक, दिगो र परिणाममुखी बनाउनेगरी योजना तर्जुमा गरिएको जानकारी दिए । प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य सेवामा गुणस्तरीय बनाउने, पहुँच विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोग गर्दै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

प्रत्येक नागरिकले उपचार आफ्नै जिल्लाका अस्पतालमा सहज रूपमा पाउने गरी व्यवस्था गर्दै अस्पताललाई उपकरण, प्रविधिमैत्री बनाउने गरी व्यवस्थापनको तयारी थालिएको स्वास्थ्य सचिव गौतमले जानकारी दिए । स्वस्थ सहर, स्वस्थ नागरिकका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले अभियान सञ्चालन गर्नेगरी प्रत्येक जिल्लामा तयारी गरिएको उनले बताए । 

रासस

Link copied successfully