भालुबाट खाद्यान्न बचाउन लप्चीवासीको अनौठो उपाय- मूलढोकामा काँटीको पिर्का

चिसो छल्न लुम्नाङ झरेका बेला हिमाली भालुले घर नै फोडेर खाद्यान्न खाने गरेको छ ।

चैत्र ८, २०८२

केदार शिवाकोटी

Lapchi residents' unique way to protect food from bears - a thorny hedge at the main gate

What you should know

दोलखा — चीनसँग सीमा जोडिएको जिल्लाको अति दुर्गम लप्चीका स्थानीय बासिन्दा हिमाली भालुबाट आजित बनेका छन् । भालुले जोहो गरेर राखेको खाद्यान्न खानुका साथै उपद्रो मचाउने गरेको छ ।

जाडो छल्न याकचौंरी धपाएर विगु गाउँपालिका–१ लम्नाङ झरेपछि हिउँदमा लप्चीका सबै घरमा ताला लाग्छ । तिब्बती बजार टासिघाङबाट खाद्यान्न लगायतका आवश्यक सामग्री जोहो गर्ने लप्चीवासीले लुम्नाङ झरेको समयमा हिमाली भालुले घर नै फोडेर खाद्यान्न खाने गरेको कुञ्जुनोर्बु शेर्पाले बताए । भालुबाट खाद्यान्न जोगाउन सकिन्छ कि भनेर स्थानीयले पछिल्लो समयमा घरको मूलढोकामा काँटीका पिर्का बनाएर राख्न थालेका छन् । 

'जाडो छल्ने मंसिरबाट हामी तल लुम्नाङ झर्छौं, त्यहीबेला भालुले घरको मूलढोका फोडर उपद्रो मचाउँछ,’ उनले भने, ‘भालुबाट खाद्यान्न जोगाउन मूलढोका चढ्ने ठाउँमा फलामका काँटीको पिर्का बनाएर राखेका छौं ।’ 

लगातारको हिमपातका कारण लप्ची उक्लन नपाएको उनले बताए । उनीहरु चैत पहिलो साता लुम्नाङबाट याकचौंरी खेदेर लप्ची जाने गर्छन् । तर यो वर्ष चैतसम्मै हिमपात भएकाले उक्लन सककेका छैनन् । हिउँ बिलाएर मौसम खुलेपछि लप्ची उक्लने सोचमा रहेको उनले बताए । गएका वर्ष घरको मूलढोकामा फलामे काँटीको पिर्का राख्दा भालुको उपद्रो कम भएको उनको भनाइ छ ।

लप्ची चीनको तिब्बतसँग सिमाना जोडिएको हिमाली गाउँ हो । चिसौ मौसममा लप्चीमा बस्न नसकिने भएकाले स्थानीयको सोही वडाकै लुम्नाङमा दोस्रो घर पनि रहेको छ । 

हरेक वर्ष मंसिरदेखि चैतसम्म जाडो छल्न उनीहरु तल झर्छन् । ‘लप्ची हिमपातले ढाकिने भएकाले जाडो छल्न दोस्रो घर लुम्नाङ झर्दा लप्चीका घरमा झ्याल मजबुतसँग बन्द गरेर तल झर्छौं,’ शेर्पाले भने ।

लप्चीमा २६ वटा घर छन् । २०७२ सालको भूकम्पपछि बनेका अधिकांश घर  होचा भएकाले भालुलाई घरभित्र पस्न सजिलो भएको स्थानीय कर्मावाइसर शेर्पाले बताए । ‘चिसो मौसममा दोस्रो घर लुम्नाङ झर्दा सबै अन्नपात लान सम्भव छैन,' उनले भने, ‘मंसिरदेखि चैतसम्म लप्चीका सबै स्थानीय लुम्नाङ झर्ने भएपछि गाउँ पूरै खाली हुन्छ, यो मौसममा अन्नपात अति आवश्यक परेका बेला मात्र माथि उक्लने गरेका छौं ।’ 

Lapchi residents' unique way to protect food from bears - a thorny hedge at the main gate

लप्चीका स्थानीयको मुख्य पेसा याकचौंरी पालन र घोडा हो । उनीहरुले याकचौंरीका बाच्छा र घोडा तिब्बती बजार टासिघाङमा बेच्चछन् । यस्तै याकचौंरीको घिउ पनि सोही बजारमा बेच्ने गरेका छन् । टासिघाङबाटै लप्चीका स्थानीय खाद्यान्न र अति आवश्यक सामग्री खरिद गर्छन् । 

पछिल्लो समयमा जंगली जनावरले दुःख दिने र सीमामा बेलाबेलामा हुने अवरोधले लप्चीवासीले याकचौंरी पाल्न छाड्ने क्रम बढ्दो छ । कुनै समय ३०/२० गोठमा झन्डै १ हजार ५ सय याकचौंरी पाल्ने लप्चीका स्थानीय अहिले यो पेसाबाट पलायन हुँदै छन् । 

लप्चीमा हाल ७ देखि १० वटा गोठमा करिब ४ सय याकचौंरी रहेको स्थानीय बताउँछन् । बसाइँसराइका क्रममा भालु तथा चितुवाले आक्रमण गरी धेरै चौंरी र घोडा मार्ने गरेको शेर्पाले बताए । चरन क्षेत्र खोज्दै लप्चीवासी तिब्बती भूमिमा समेत याकचौंरी चराउन पुग्छन् । जसबापत उनीहरुले चिनियाँ सरकारलाई कर बुझाउने गरेको उनले बताए । हाल निकै कम गोठ मात्रै तिब्बती भूमिका पुग्ने गरेको उनले बताए ।

केदार

Link copied successfully