हेटौंडा क्याम्पसका विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि र सिद्धार्थ क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्यार्थी सहभागी थिए
हेटौंडा — हेटौंडामा इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै यहाँका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले ‘हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, नारी अस्मिताको रक्षा गर’ भन्दै नारा लगाएका थिए।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीको भनाइ छ । आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू सडकमा उत्रिएर प्रदर्शन गरेका थिए।
हेटौंडा क्याम्पसका विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि र सिद्धार्थ क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्यार्थी सहभागी रहेको विद्यार्थी नेता नितेश भण्डारीले बताए। दोषीलाई कानुनी कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ।
