हेटौंडामा ट्रक र कन्टेनर ठोक्कियो, अटो नालीमा पल्टियो
हेटौंडा — मकवानपुरमा विभिन्न स्थानमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा शुक्रबार बिहान कन्टेनर र ट्रक ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सर्लाही बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्सा वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने ३८ वर्षीय गोविन्द चौधरी रहेका छन्। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको कन्टेनर र चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा कन्टेनर चालक चौधरी स्टेरिङमा च्यापिएका थिए। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ट्रक चालक चितवन खैरहनी नगरपालिका–९ का ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–८ मा सिम्पानीतर्फ आउँदै गरेको अटो नालीमा कोल्टे परेर दुर्घटना हुँदा मनहरी गाउँपालिका ढकालटोलका ६५ वर्षीय रेशम उप्रेतीको मृत्यु भएको छ।
ना २ ह ३२३४ नम्बरको अटो ब्रेक फेल भएर नालीमा पल्टिँदा अटोमा सवार उप्रेती गम्भीर घाइते भएका थिए। उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लैजाँदा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
