धुलिखेल-खावा सडकमा कालोपत्रेको तयारी, २ साता दैनिक ११ घन्टा बन्द हुने

डिभिजन सडक कार्यालय भक्तपुरले आज सूचना जारी गर्दै ७ देखि २० चैतसम्म हरेक दिन साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बससहित चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको जनाएको छ ।

फाल्गुन २९, २०८२

ज्योती श्रेष्ठ

Preparations for blacktopping of Dhulikhel-Khawa road, to be closed for 11 hours daily for 2 weeks

काभ्रेपलाञ्चोक — अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडक खण्ड २ सातासम्म दैनिक ११ घन्टा सवारी साधन सञ्चालनमा रोक लाग्ने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले आज सूचना जारी गर्दै आगामी ७ देखि २० चैतसम्म बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म बससहित चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको जनाएको छ ।

७ चैतदेखि ट्रिपर, ट्रकलगायतका भारी सवारीसाधनलाई भने २४ सै घन्टा सञ्चालनमा रोक लगाइएको छ ।

यस अवधिमा सडक कालोपत्रे हुने भएकाले बन्दा गर्नु परेको डिभिजन सडक कार्यालयले जनाएको छ । लामो समय निर्माण अवरुद्ध भएको यो सडक निर्माण अहिले तीव्र बनेको छ । सडक डिभिजन भक्तपुर र सिएम/एवान/काली जेभी काठमाडौंबीच सम्झौता भई सडक निर्माण सुरु भएको थियो ।

सडक निर्माणको लागि ३१ करोड ५६ लाख रुपैयाँको सम्झौता भएको छ ।

यसअघिको सम्झौताअनुसार २२ महिनाभित्र सडक विस्तार सम्पन्न गर्ने गरी धुलिखेलदेखि खावासम्मको ४ दशमलव १५५ किलोमिटर सडक विस्तार गर्न सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २० जेठ २०७९ मा ठेक्का सम्झौता भएको थियो । 

उक्त निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपछि डिभिजनले १५ फागुन २०८१ मा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । ठेक्का रद्द गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत गए पनि अदालतले सडक डिभिजनको पक्षमा फैसला गरेपछि नयाँ ठेक्का लगाइएको हो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully