प्रत्यक्ष र समानुपातिक दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएसँगै पार्टीले मकवानपुरमा नयाँ राजनीतिक लहरको संकेत दिएको छ।
हेटौंडा — प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मकवानपुरमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ । उसले ७३ हजार ७ सय ९२ मत ल्याएको छ ।
प्रत्यक्ष निर्वाचनतर्फ मकवानपुरका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका थिए । २७ हजार ६ सय ९० मतसहित एमाले दोस्रो भएको छ । राष्ट्रिय परिवर्तन पार्टी (वासुरी) ले २४ हजार ७ सय ४९ मत ल्याएर तेस्रो भएको छ ।
नेपाली कांग्रेसले २३ हजार ६ सय ३८ मत ल्याएर चौथो भएको छ भने नेकपाले १७ हजार ८ सय ९८ मत ल्याएर पाँचौं भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरीप्रसाद ढकालले बताए ।
समानुपातिकतर्फ राप्रपाले ५ हजार ५ सय ७७ मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले ३ हजार ९१ मत ल्याएको छ । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १८ हजार ६ सय ४१ मतदाता रहेका थिए । त्यसमध्ये १ लाख ८८ हजार २ सय ६६ मत खसेको थियो ।
एक लाख ८० हजार ८ सय ९ मत सदर भएको थियो भने ७ हजार ४ सय ५७ मत अर्थात् ३ दशमलव ९६ प्रतिशत मत बदर भएको थियो ।
