पूर्वसांसद सिंहसहित ३५ जनाको धरौटी जफत, २० उम्मेदवारले ५० मतसमेत ल्याएनन्

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा सिंह धरौटी नै जफत हुने गरी पराजित भएका हुन् । कुल सदर मतको १० प्रतिशत नपुग्दा सिंहको धरौटी जफत भएको हो ।

फाल्गुन २६, २०८२

प्रताप विष्ट

Bail of 35 people including former MP Singh confiscated, 20 candidates did not even get 50 votes

हेटौंडा — प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा मकवानपुर–१ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचनमा पराजितमात्र भएनन् धरौटी पनि जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा सिंहको धरौटी नै जफत हुने गरी पराजित भएका हुन् । कुल सदर मतको १० प्रतिशत नपुग्दा सिंहको धरौटी जफत भएको हो ।

यसपटकको निर्वाचनमा सिंहले ४ हजार ५ सय ७५ मत मात्रै पाए । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिंह २७ हजार ८५१ मतसहित निर्वाचित भए थिए । नेकपा एमालेको निर्वाचन चिन्ह सूर्य लिएर चुनावी मैदानमा उत्रिएका आफ्ना गुरु कमल थापालाई तेस्रो स्थानमा राख्दै विजयी भएका सिंह संघीय संसदको पूर्वाधार विकास समितिको सभापति समेत बनेका थिए ।

मकवानपुर–१ मा सिंहसँगै मकवानपुर–२ का राप्रपाकै उम्मेदवार रामबहादुर थोकरको पनि धरौटी जफत भएको छ । थोकरले ७ सय ८५ मत मात्र प्राप्त गरे । उक्त क्षेत्रमा रास्वपा, कांग्रेस, एमाले , नेकपा र उज्यालो नेपाल पार्टीसहित ५ जना उम्मेदवारको मात्र धरौटी जोगिएको छ । 

राजनीतिक दल र स्वतन्त्रवाट उम्मेदवारी दिएका १६ जनाको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम विजयी भएका थिए । 

यस क्षेत्रका ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा कुल ९५ हजार ८ सय ४३ मत खसेको थियो । त्यसमध्ये ९० हजार ७ सय २५ मत सदर भएको थियो । ५ हजार ११८ मत बदर भएको थियो । यस क्षेत्रमा १३ राजनीतिक दल र १० स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा विजयी उम्मेदवारसहित पाँच जनाले मात्रै आफ्नो धरौटी जोगाएका छन् ।

यसैगरी मकवानपुर–२ मा पनि ४ दलका उम्मेदवार बाहेक अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरुको धरौटी जफत भएको छ । रास्वपा, कांग्रेस, एमाले र नेकपाका उम्मेदवारले धरौटी बचाउन सफल भएका थिए । दल र स्वतन्त्रका गरी १९ जनाको धरौटी जफत भएको थियो । 

यस क्षेत्रमा ९ जना उम्मेदवारले ५० मतसमेत ल्याउन सकेनन् । उक्त क्षेत्रमा २३ जनाले उम्मेदवारी दिएका थिए । मकवानपुर–२ मा ८६ हजार ७ सय २४ मत सदर भएको थियो । ५ हजार ४९७ मत बदर भएको थियो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully