शक्तिखोर फिस्लिङ सडकको कालिका नगरपालिका-९ शक्तिखोर नजिक दर्बेटारमा दुर्घटना भएको हो ।
चितवन — जिल्लाको पहाडी भेग छिचोल्ने शक्तिखोर फिस्लिङ सडकको कालिका नगरपालिका-९ शक्तिखोर नजिक दर्बेटारमा शनिबार भएको अटो रिक्सा दुर्घटनामा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले दुर्घटनामा मृत्यु हुनेमा अटो रिक्साका चालक राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्णबहादुर विक, राप्ती-८ की ५६ वर्षीया विष्णुकुमारी तमाङ, राप्ती-९ की २२ वर्षीया विनी तमाङ र सोही ठाउँका ५५ वर्षका तिलक तमाङ रहेका छन् ।
राप्ती-९ कै ५३ वर्षकी चिनीकुमारी गुरूङको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले बताए ।
जिल्लाको पहाडी भेग उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा प्र ०६-००१ ह ०३१५ नम्बरको अटो रिक्सा दुर्घटना भएको हो । रिक्सा आफै अनियन्त्रित भएर नालामा पल्टेको डीएसपी खनालले बताए ।
