सिन्धुपाल्चोक-१ मा रास्वपा र २ मा कांग्रेसको अग्रता

जारी मतगणनामा क्षेत्र–१ मा रास्वपाका भरत पराजुली र २ मा कांग्रेसका वंशलाल तामाङ अगाडि छन् ।

फाल्गुन २२, २०८२

अनिश तिवारी

RSVP leads in Sindhupalchowk-1 and Congress in 2

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकका दुई प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र क्षेत्र–२ मा नेपाली कांग्रेसले अग्रता कायम गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र–२ मा हेलम्बु गाउँपालिका–७ र मेलम्ची नगरपालिकाका केही वडाको गरी दुई हजार ८ सय ७८  मत गणना हुँदा कांग्रेसका वंशलाल तामाङ ९ सय ६७ मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपाका युवराज दुलाल ‘शरद’ ले ५ सय ५० मतसहित पछ्याइरहेका छन्।

यस्तै एमालेका शेरबहादुर तामाङ ३ सय ३३ र रास्वपाका झलककुमार श्रेष्ठ २ सय ७९ मतसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। हाल यस क्षेत्रको इन्द्रावती गाउँपालिका–४ र पाँचपोखरी थाङपाल गाउँपालिकाका वडाहरूको मतगणना जारी छ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र–१ मा भोटेकोशी गाउँपालिकाका पाँचै वडाको मतगणना सम्पन्न हुँदा रास्वपाका भरत पराजुली २ हजार ८ सय ७५ मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपाका माधव सापकोटाले १ हजार १ सय ९४ मतसहित पछ्याइरहेका छन्। कांग्रेसका जंगबहादुर लामा ७ सय २१ र एमालेका सरेश नेपाल ७ सय मतसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

यस क्षेत्रमा ६ हजार ३ सय २७ मत खसेकामा ४ सय ५९ मत बदर भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा क्षेत्रमा कांग्रेस, एमाले, नेकपा, रास्वपासहित १५ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरी ३६ जना प्रतिस्पर्धामा छन्। जिल्लामा कुल २ लाख ७४ हजार ९ सय ९८ मतदाता रहेकामा १ लाख ५३ हजार १ सय ४६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। खसेको मतमध्ये ६९ हजार ५ महिला र ८४ हजार १ सय ४१ पुरुष रहेका छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully