चितवनमा ६४ प्रतिशत मतदान, पुरुषभन्दा धेरै महिलाले गरे मतदान

प्रतिनिधिसभा सदस्यका लागि २०७९ मंसिर ४ मा भएको निर्वाचनमा चितवनमा ६० प्रतिशतभन्दा बढी मत खसेको थियो । निर्वाचन कार्यालयको विवरणअनुसार चितवनको तीनवटै क्षेत्रमा मतदान गर्नेमा महिलाको संख्या बढी छ ।

फाल्गुन २१, २०८२

रमेशकुमार पौडेल

64 percent voter turnout in Chitwan, more women than men voted

चितवन — प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा कुल चार लाख ४२ हजार ८२ मतदाताहरु थिए । तीमध्ये दुई लाख ८३ हजार ४२८ मतदाताले मतदान गरेको चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । सबैभन्दा धेरै चितवन–३ मा मतदान भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि २०७९ मंसिर ४ मा भएको निर्वाचनमा चितवनमा ६० प्रतिशतभन्दा बढी मत खसेको थियो । निर्वाचन कार्यालयको विवरणअनुसार चितवनको तीनवटै क्षेत्रमा मतदान गर्नेमा महिलाको संख्या बढी छ । चितवनमा कुल मतदातामध्ये महिलाहरुकै संख्या धेरै थियो । दुई लाख २४ हजार ७६६ महिला, दुई लाख १७ हजार ३१४ पुरुष र दुईजना अन्य मतदाता थिए ।

एक लाख ५१ हजार १३५ महिला र एक लाख ३२ हजार २९३ पुरुषले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । चितवन–१ मा एक लाख ४९ हजार ६४१, चितवन–२ मा एक लाख ३७ हजार १५२ र चितवन–३ मा एक लाख ५५ हजार ३०९ मतदाता छन् । चितवन–१ मा ६४ दशमलब २६ प्रतिशत, चितवन–२ मा ६३ दशमलब ५९ र चितवन–३ मा ६४ दशमलब ४६ प्रतिशत मतदान भएको छ । 

चितवनमा १६२ मतदान स्थलमा ४९४ मतदान केन्द्रहरु थिए । मतदान सम्पन्न भए लगत्तै मतदान केन्द्रहरुबाट मत पेटिएकाहरु मत गणनास्थल आइरहेका छन् । चितवन–१ को मतगणना खैरहनीको भुवानी शंकर कलेजमा, चितवन–२ को भरतपुरमा रहेको उद्योग संघको प्रदर्शनी केन्द्रमा र चितवन–३ को मत गणना रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने छ ।

चितवन–१ मा तीन स्वतन्त्रसहित १८, चितवन–२ मा ६ स्वतन्त्रसहित २३ र चितवन–३ मा पनि ६ स्वतन्त्रसहित २३ गरी कुल ६४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चितवन–२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले आफूलाई मतदान गर्न भने पाएनन् । चितवनमा उम्मेदवार भए पनि मतदाता नभएका उनले काठमाडौं–३ मा मतदान गरे । 

लामिछाने २०७९ सालको निर्वाचनमा चितवन–२ बाटै फराकिलो मतान्तरले विजयी भएका थिए । सो क्षेत्रमा २०८० को वैशाखमा उपनिर्वचन हुँदा पनि रवि झनै ठूलो मतान्तरले विजयी भएका थिए । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय संयोजक पुष्पकमल दाहालले चितवन–३ को भरतपुर महानगरपालिका–१४ शान्तिपुरको नेपाल प्रहरी स्कुल मतदान केन्द्र ‘क’मा मतदान गरे । दाहाल रुकुम पूर्वबाट उम्मेदवार छन् । चितवनमा सबै मतदानस्थल र केन्द्रहरुमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले बताएका छन् । बिहान सात बजेबाट मतदान सुरु हुने भए पनि मतदाताहरु सबेरै साढे पाँच बज्दा नबज्दै मतदानस्थल आएका थिए । 

मतदानस्थलहरुबाट मत पेटिकाहरु संकलन भइरहेको र सबै मतपेटिएकाहरु आएपछि भण्डारणस्थलमा राखेर शिल गर्ने र सर्वदलीय बैठक गरेर गणना सुरु गर्ने योजना निर्वाचन अधिकृतको कार्यालयको छ । 

सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गर्ने अवस्थामा निर्वाचन अधिकृतको कार्यालय तयार रहेको चितवन–३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully