नेपालमा घडियाल र मगर गरेर दुई प्रजातिका गोही पाइन्छ । घडियाल केही शान्त भए पनि मगर गोही बढी आक्रामक र शान्त रहन्छ ।
चितवन — कुनैबेला देवघाटनजिकको नारायणी र कालीगण्डकी नदी किनार घडियाल गोहीको राम्रो बासस्थल थियो । विस्तारै यो ठाउँमा घडियाल देखा पर्न छाडे । देवघाटमा त्रिशूली र कालीगण्डकी मिलेपछि उक्त नदीलाई नारायणी भनिन्छ ।
कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलभन्दा थोरै तल नारायणी नदीको गैंडाकोट तर्फको बगरको ढिस्कोमा अचेल घाम ताप्दै बसेको घडियाल भेटिन्छ । ‘६/७ दिन भयो त्यहाँ घडियाल देखिएको छ,’ देवघाटका स्थानीय हिरालाल बोटेले भने ।
घडियाल बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणी हो । नदी र खोलामा भएको प्रदूषण र माछाको कमीले घडियाल हराउँदै गयो । देवघाटमै जन्मे हुर्केका ७१ वर्षीय दलबहादुर बोटे देवघाट र यस वरपरको खैरेनी, छरछरेमा २०/२५ वटासम्म घडियाल देखेको बताउँछन् । ३०/३५ वर्षयता गोही नदेखेको उनले बताए ।
‘पहिला हामी यही नदीको पानी खान्थ्यौं । अहिले खान त के नुहाउँदा पनि जिउ चिलाउँछ । माछा स्वाट्टै घटेको छ । यस्तो भएपछि गोही कसरी बसोस्,’ दलबहादुरले भने । घडियाल चितवन या नेपालमा मात्रै नभएर विश्वमै लोप हुने खतरामा पुगेको अति संकटापन्न जीव हो । यसको संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन् केन्द्र खुलेको छ । ‘नारायणीको माथिल्लो क्षेत्रमा घडियाल नदेखिएको धेरै भयो,’ घडियाल गोही प्रजनन् केन्द्रका प्रमुख सुजिता श्रेष्ठले भनिन् ।
चितवन निकुञ्ज कार्यालयले हरेक वर्ष राप्ती र नारायणी नदीमा प्रतक्ष्य अवलोकन विधिबाट घडियाल गोहीको गणना गर्दै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा घडियाल गोही प्रजनन् केन्द्र प्रमुख सुजिता श्रेष्ठले राप्ती नदीको सुनाचुरी क्षेत्रदेखि र नारायणी नदीको नारायणगढदेखि धेरै तल सेतीदेवी वन नजिकबाट त्रिवेणीसम्म घडियाल गणना हुने गरेको बताउँछिन् । यो पटक पुसमा सार्वजनिक भएको गणनाको नतिजा अनुसार राप्तीमा २३१ र नारायणीमा १३५ गरेर कुल ३६६ घडियाल गोही फेला परेका थिए ।
घडियाल गोहीमा भाले निकै कम छन् । यो पटक राप्तीमा सात र नारायणीमा दुई गरेर कुल नौ वटा भाले घडियाल भेटिएका थिए । घडियाल गोहीले मार्च र अप्रिल महिनामा बगरमा खाल्डो खनेर गुँड बनाउँछ । देवघाटमा देखा परेको घडियाल पनि बगर तल र माथि गर्न लागेका कारण गुँड बनाउन खोजेको पो हो कि भन्ने स्थानीयको अनुमान छ । घडियाल स्वच्छ नदी र खोलाको सूचक हो ।
नदी प्रदूषण र आहाराको कमीले घडियाल ह्वात्तै घटेपछि यसको संरक्षणका लागि कसरामा २०३५ सालमा गोही प्रजनन् केन्द्र खुलेको हो । प्राकृतिक बासस्थलमा बच्चा हुर्कन सकस भएका कारण प्रजनन् केन्द्रमा अण्डा संकलन गरेर राख्ने र त्यहाँ जन्मेका बच्चा हुर्केपछि नदी र खोलामा लगेर छाडिन्छ । संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार हालसम्म यसरी दुई हजार २७५ घडियाल छाडिएका छन् ।
यसरी छाडेका घडियाल पनि धेरै नबचेको गणनाको नतिजाले देखाउँछ । पछिल्लो समय माछा मार्ने जालमा अड्केर पनि घडियाल गोही घाइते हुने र मर्ने गरेका छन् । गुँड लगाउने ठाउँमा जथाभावी गिट्टी, बालुवा, ढुङ्गा उत्खनन् गर्दा पनि घडियालमा नकारात्मक प्रभाव परेको संरक्षणकर्मीहरु बताउँछन् ।
नेपालमा घडियाल र मगर गरेर दुई प्रजातिका गोही पाइन्छ । घडियाल केही शान्त भए पनि मगर गोही बढी आक्रामक र शान्त रहन्छ । मगर गोहीले माछाका साथै ठूला खाले जीवको पनि सिकार गर्दछ । मगर गोही हिलो धमिलो पानी, नदी, खोला र तलाउमा पनि बस्ने संरक्षण अधिकृत सुजिता श्रेष्ठ बताउँछिन् । घस्रदै धेरै परपरसम्म पनि जान्छ । तर घडियाल नदी र बगरभन्दा पर पर गएको पाइदैन ।
