सूर्यमुखीको फाँटमा फोटो भिडियो खिच्नेको भिड

फोटो भिडियो बनाउन आएकाहरुबाट उठाएको शुल्कले पनि राम्रो आम्दानी भएको थियो । दुई वर्षअघि यसरी पाँच लाख ५६ हजार रुपैयाँ उठेको अधिकारीले बताए ।

फाल्गुन १९, २०८२

रमेशकुमार पौडेल

Crowds of people taking photos and videos in a sunflower field

चितवन — तेलका लागि किसान चन्द्रप्रसाद अधिकारीले सूर्यमुखी फूलको खेती गरेका छन् । सूर्यमुखी फुलेर ढकमक्क हुँदा फोटो भिडियो खिच्नेहरुको भिड लाग्छ । मान्छेहरु हुलका हुल आउन थालेपछि अधिकारीले एकजनाको सय रुपैयाँ शुल्क लिन सुरु गरे । अघिल्लो पटक दिनमै ६ सय बढी आएर फोटो भिडियो खिचेका थिए । यो पटक पनि फूल फुलेको खबर फैलिएसँगै मान्छेहरु झुम्मिन सुरु गरेका छन् । 

Crowds of people taking photos and videos in a sunflower field

भरतपुर महानगरपालिका–१५ फूलबारी श्रीपुरका चन्द्रप्रसाद अधिकारीले वर्षौंदेखि प्राङ्गारिक खेती गर्दै आएका छन् । उनले खेतीमा रासायनिक मल विषादी प्रयोग गर्दैनन् । सूर्यमुखीको खेती पनि यही कारणले सुरु भएको बताउँछन् अधिकारी । घरमा तेल खानका लागि उनले तोरी हैन सूर्यमुखी लगाउँदै आए । ‘तोरी चाँडै नछरे लाही र किराले सताउँछ । तर सूर्यमुखीमा यो समस्या छैन’ भन्छन् उनी ।

Crowds of people taking photos and videos in a sunflower field

‘हाम्रो तिरको खेत मंसिरसम्म चिसै हुन्छ । कात्तिक सात आठ गतेभित्र तोरी नछरे पछौटे तोरीमा किरा र रोग लाग्छ । प्राङ्गारिक खेती गर्दै आएका कारण रोग किरा नियन्त्रणमा प्राकृतिक उपाए खोज्छु । सूर्यमुखी कात्तिकको अन्तिमसम्म लगाए हुने, रोग किराले पनि दुख नदिने रहेछ,’ अधिकारीले भने । उनले १८/१९ वर्षअघि सूर्यमुखीको खेती सुरु गरेका हुन् । दुई वर्षअघि अलि धेरै जमिनमा लगाए ।

Crowds of people taking photos and videos in a sunflower field

अधिकारीले प्राङ्गारिक कृषि गर्दै आएका चेकमान वाइवा, महेन्द्र पोखरेल, मोहनसिंह गुरुङलाई पनि समेटेर श्रीपुर शनिश्चरे टोलको दुई बिघा १० कट्ठा जमिनमा सूर्यमुखी रोपे । सूर्यमुखी फूल्न सुरु भयो, फोटो खिचाउन आउनेहरु बढ्दै गए । चारजनाले सल्लाह गरेर फोटो खिचाउनेहरुबाट सय रुपैयाँ लिने निधो गरे । पैसा लिन्छन् भनेपछि फोटो खिच्न आउनेहरु घट्छन् भन्ने थियो उनीहरुलाई ।

Crowds of people taking photos and videos in a sunflower field

‘मान्छे बारीमा आउने, पस्ने मास्ने खतरा बढेपछि भिड रोक्नलाई शुल्क लिने भनेको हो तर झनै आए । एकै दिन ६५० जनासम्म पनि आए,’ अधिकारीले सुनाए । वरपरका टोलबासी मात्रै हैन भरतपुरभरीबाट त आउँछन् नै चितवन घुम्न अन्य जिल्लाबाट आएकाहरु पनि श्रीपुरको सूर्यमुखी खेत खोज्दै पुगे । ४० क्वीन्टल उत्पादन भएको थियो । चारजनाले १०/१० क्वीन्टलका दरले भाग लगाए ।

Crowds of people taking photos and videos in a sunflower field

फोटो भिडियो बनाउन आएकाहरुबाट उठाएको शुल्कले पनि राम्रो आम्दानी भएको थियो । दुई वर्षअघि यसरी पाँच लाख ५६ हजार रुपैयाँ उठेको अधिकारीले बताए । सूर्यमुखी फूलको ३५ प्रतिशतसम्म तेल निस्कन्छ । ‘४० क्वीन्टल उत्पादन हुँदा १४ सय लिटर तेल बस्यो,’ भन्छन् अधिकारी । एक लिटर तेलको आठ सय रुपैयाँसम्म परेको थियो । यसरी तेलबाट कुल आम्दानी ११ लाख २० हजार रुपैयाँ भयो ।

Crowds of people taking photos and videos in a sunflower field

दुई वर्षअघि सूर्यमुखी रोपेको ठाउँमा गत वर्ष चुकन्दर लगाए । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चुकन्दरको माग भएपछि सूर्यमुखी लगाएनन् । यो पटक फेरि सूर्यमुखी रोपेका छन् । पानी परेर जमिन चिसो भएका कारण छर्न केही ढिला भयो । अघिल्लो पटक कात्तिक २६ मा रोपेका थिए, यो पटक मंसिर ११ गते बल्ल रोप्न सकियो भन्छन उनी । त्यसैले गत वर्ष जस्तो फल्ला या नफल्ला भन्ने दुविधा छ ।

Crowds of people taking photos and videos in a sunflower field

सूर्यमखुी फुल्यो भन्ने सुनेर फोटो भिडियो खिचाउन आउनेहरुको लहर भने सुरु भएको छ । यो पटक उनी एक्लैले सूर्यमुखी लगाएका हुन् । खेति गर्न सजिलो छैन । त्यसमाथि रासायनिक मल विषादी प्रयोग नगरी खेती गर्न झनै गाह्रो छ । अधिकारीलाई यसैमा बानी पर्‍यो । त्यसैले उनी प्राङ्गारिक खेती गर्न झिझो र समस्या मान्दैनन् । यसले तुलनात्मक रुपमा खर्च बढी भएझै हुन्छ ।

Crowds of people taking photos and videos in a sunflower field

‘दुई लाख ५० हजार रुपैयाँको प्राङ्गारिक मल राखेको हो । मल छर्नका लागि ३१ जना खेताला लागे । रोप्ने बेलामा ५२ जना खेताला खटे । गोड्न दुई पटकमा ७५ जनाले काम गरेका छन्,’ अधिकारीले खर्च विवरण राख्न थाले । जोतेको खर्च ३१ हजार रुपैयाँ आयो । जमिन पनि आफ्नो हैन भाडाको हो ।’

सूर्यमुखीको बीउ १५ किलो लागेको छ । एक किलो बीउको १६० रुपैयाँ पर्दछ । तेलहन बाली अनुसन्धान कार्यक्रमबाट सरकारी कोटामा बीउ ल्याएका कारण केही सहुलियत भएको उनले बताए । ‘सूर्यमुखीको सबैभन्दा ठूलो शत्रु सुगा रहेछ’ उनले भने, ‘दाना बस्न थालेपछि हुलका हुल सुगा आएर खान सुरु गर्दछ । ध्यान नदिने हो भने सुगाले सूर्यमुखी ध्वस्तै पार्छ ।’

Crowds of people taking photos and videos in a sunflower field

त्यसैले सुगा धपाउन ठाउँ ठाउँमा स–साना मचान बनाएका छन् । ति मचानमा बसेर दुई चारजना खेतलाले सुगा धपाउने गर्दछन् । तर ति मचान पनि अहिले टिकटक, रिल, इन्टग्रामका लागि भिडियो फोटो बनाउन आएकाहरुले प्रयोग गरिरहेका छन् । हेर्दा रमाइलो देखिन्छ । ‘तर किसानका दुख कम छैनन्, उत्पादन लिन र बेच्न धेरै लगन र धैर्य चाहिन्छ । अरु कुरा छाड्नुस अघिल्लो पटक हामीले निकालेको तेल बेच्न नै डेढ वर्ष लाग्यो । खेती लगाउन, स्याहार्न उत्तिकै मिहेनत र लगानी चाहियो । फूल फुलेका बेलामा सबै राम्रो देखिन्छ । यसभित्रको दुख भोग्नेलाई मात्र थाहा छ,’ अधिकारीले भने । 

Crowds of people taking photos and videos in a sunflower field

रोपेको तीन महिनाभित्र फूल फुल्न सुरु हुन्छ । १५ दिनसम्म फूल निकै आकर्षक र फाँट मनमोहक देखिन्छ । रोपेको चार महिनाभित्र खेति स्याहार्नु पर्दछ । बजारमा सूर्यमुखीको तेल सस्तोमा पाइने हुँदा सबैले आफूहरुको उत्पादन नरोज्ने गरेको अधिकारीको भनाइ छ । 

‘बजारमा जति मूल्यमा तेल बिक्री भएको छ त्यसको आधारमा हाम्रो उत्पादन बेच्न सकिँदैन । लागत नै उठ्दैनन् । हाम्रो उत्पादन प्राङ्गारिक हो, शुद्ध छ । यसको फाइदा बुझेकाहरुले खोजेर खान्छन् । यसबाट हामीलाई राहत भएको छ,’ अधिकारीले भने । 

Crowds of people taking photos and videos in a sunflower field

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully