चितवनमा प्रहरीको गाडी तेल ट्यांकरसँग ठोक्कियो, ४ जना घाइते

प्रहरीको गाडीका चालकसहित चार जना घाइते

फाल्गुन १८, २०८२

रमेशकुमार पौडेल

Police vehicle collides with oil tanker in Chitwan, 4 injured

चितवन — निर्वाचन सामग्री बोकेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको गाडीलाई स्कर्टिङ गरेर फर्कँदै गरेको चितवन खैरहनीको इलाका प्रहरी कार्यालयको मोबाइल गाडी आइतबार मध्यरातमा रत्ननगर टाँडी भानुचोकमा तेल बोक्ने ट्यांकरसँग ठोक्किएको छ ।

उक्त घटनामा प्रहरीको गाडीका चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । बाँकी तीन जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरूको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए । घाइतेमध्ये प्रहरी हवल्दार ३७ वर्षीय चेतनाथ पोखरेलको टाउकोमा चोट छ । उनको अवस्था गम्भीर छ ।

प्रहरी सहायक निरीक्षक ४८ वर्षका रामकिशोर सुडी, प्रहरी जवान २४ वर्षकी इश्वरी दानीको अवस्था मध्यम छ । प्रहरीको गाडीका चालक प्रहरी जवान वर्ष २९ का महेश घिमिरेको अवस्था पनि मध्यम रहेको डीएसपी खनालले जानकारी दिए ।

मध्यराति १२ बजेर ३० मिनेट जाँदा रत्ननगर नगरपालिका–१० भानुचोकमा ना १ झ १४०५ नम्बरको प्रहरीको मोबाइल गाडीलाई तेल बोकेको ट्यांकरले ठक्कर दिएको डीएसपी खनालले बताए । राति दुई बजेर ५० मिनेटमा ठक्कर दिने लु १ क ८२८५ नम्बरको तेल ट्यांकर र त्यसका चालक सल्यान घर भएका २७ वर्षका रिदम घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी खनालले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully