थाहामा २ घरमा आगलागी, सात लाखको क्षति

आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। अर्को घर आंशिक नष्ट भएको छ।

फाल्गुन १८, २०८२

प्रताप विष्ट

Fire in 2 houses in Thaha, damage of Rs. 700,000

हेटौंडा — थाहा नगरपालिका–२ स्थित अगारे र टाखेलमा गएराति दुई घरमा आगलागी भएको छ। आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। अर्को घर आंशिक नष्ट भएको छ। आगलागीबाट करिब सात लाख रुपैयाँबराबरको क्षति भएको छ।

थाहा नगरपालिका–२ अंगारेका गुप्त कार्कीको नयाँ घरसँगै रहेको जस्तापाताले छाएको पुरानो कच्ची घरमा पूजा गर्ने क्रममा बालिएको दियोबाट आगो सल्किएको थियो। आगलागीबाट गुप्त कार्कीकी श्रीमती ६१ वर्षीया सान्नानी कार्की धुवाका कारण निस्सासिएर घाइते भएकी थिइन्। उनको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा भइरहेको छ।

आगलागीबाट घर आंशिक रूपमा जलेको छ भने काठ, अन्नपात तथा कागजातसमेत गरी करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको इप्रका पालुङकी प्रहरी निरीक्षक रुक्सा वज्राचार्यले बताइन्। दमकल, प्रहरी र स्थानीयवासीले २ घन्टापछि आगो नियन्त्रणमा लिएका थिए।

यसैगरी थाहा नगरपालिका–२ टाखेलका चन्द्रबहादुर देउलाको नयाँ घरबाट करिब ५०० मिटर उत्तरतर्फ रहेको ढुंगा–माटोले बनेको, जस्तापाताले छाएको मानिस नबस्ने पुरानो कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको कमान्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमाण्डमा १० जनाको नगर प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully