काभ्रेमा फागुन १८ देखि २२ सम्म ट्रक/टिपर सञ्चालनमा रोक

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै रोक लगाउने निर्णय गरिएको काभ्रे प्रशासनले जनाएको छ ।

फाल्गुन १७, २०८२

ज्योती श्रेष्ठ

Truck/Tipper operation banned in Kavre from Falgun 18 to 22

What you should know

काभ्रे — काभ्रेमा फागुन १८ गतेदेखि २२ गतेसम्म ट्रक/टिपर सञ्चालनमा समेत रोक लगाइएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले जिल्लाभर नदीजन्य तथा खानीजन्य पदार्थ ढुवानी गर्ने ट्रक र टिपर सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालय काभ्रेले निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै, आसन्न निर्वाचनका क्रममा सुरक्षा संवेदनशीलता बढ्न सक्ने भएकाले इँटा, गिट्टी, बालुवा लगायतका नदीजन्य तथा खानीजन्य सामग्री बोकेर सञ्चालन हुने ट्रक/टिपरलाई तोकिएको अवधिभर सञ्चालन नगर्न निर्देशन दिइएको जानकारी गराएको छ ।

उक्त निर्णयअनुसार फागुन १८ देखि २२ गतेसम्म जिल्लाभर ढुवानीमा रोक लाग्नेछ। प्रशासनले सम्बन्धित निर्माण व्यवसायी, ढुवानी व्यवसायी तथा सरोकारवालालाई यसबारे जानकारी गराउँदै निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।0

निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने) भने सञ्चालन हुनेछन् । कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि चल्नेछन् । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully