सडक सञ्जाल विस्तार, स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुदृढीकरण, रोजगारीका अवसर सिर्जना र स्वच्छ खानेपानीमा पहुँच सुनिश्चित गर्ने सहमति-पत्रमा उल्लेख ।
काभ्रे — जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को चुनावी परिदृश्यमा नयाँ समीकरण बनेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा रहेका काभ्रे-२ का गणेशप्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले सोही क्षेत्रका रास्वपा उम्मेदवार बदन भण्डारीलाई समर्थन गर्ने घोषणा गर्दै पार्टीमा आबद्ध भएका हुन्।
अधिकारी र भण्डारीबीच लिखित सहमति भएको छ। सहमतिअनुसार जिल्लाको समग्र पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ। सडक सञ्जाल विस्तार, स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुदृढीकरण, रोजगारीका अवसर सिर्जना र स्वच्छ खानेपानीमा पहुँच सुनिश्चित गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
युवालाई लक्षित उद्यमशीलता विकास, स्थानीय स्तरमै अवसर निर्माण, कृषि आधुनिकीकरण र स्थानीय उत्पादनको संरक्षणमार्फत कृषकको आयस्तर वृद्धि गर्ने योजना पनि सहमतिपत्रमा समेटिएको छ। साथै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्दै पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्ने उल्लेख गरिएको छ।
सहमति पत्रमा आगामी निर्वाचनपछि समृद्ध र पारदर्शी शासन प्रणाली स्थापना तथा दिगो विकासका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।
