घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा सवारीसाधनले ठक्कर दिएको आशंका गरिएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक — जिल्लाको बलेफी गाउँपालिका–६ अमलटारस्थित अरनिको राजमार्ग किनारमा घाइते अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार आइतबार राति सडकछेउमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा परेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक कृष्ण खड्काको कमाण्डमा ट्राफिकसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो ।
घाइते बलेफी–६ का करिब ३५ वर्षीय प्रदीप नेपाली रहेको प्रहरीले जनाएको छ । ‘उनको टाउकोमा गम्भीर चोट लागेको थियो र बोल्न नसक्ने अवस्थामा फेला परेका थिए,’ प्रनि खड्काले भने ।
घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा सवारीसाधनले ठक्कर दिएको आशंका गरिएको प्रहरीले जनाएको छ । सवारी र चालक समाउन नसकेको भन्दै आक्रोशित स्थानीयले मृतककै गाउँ जाने बाटो अरनिको राजमार्गको बलेफी–७ अमलटरमा सडक बन्द गराएका छन् । प्रहरी टोलीले घाइतेलाई तत्काल बाह्रबिसे नगर अस्पताल पठाएको थियो । अस्पताल पुगेको केही समयपछि उपचारकै क्रममा राति १:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
