फरार रहेकामध्ये २६ जना भारतीय नागरिक
What you should know
हेटौंडा — जेन-जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये शुक्रबार बिहानसम्म १३४ जना कैदीबन्दी अझै फरार छन् । फरार भएकामध्ये २६ जना भारतीय नागरिक छन् ।
भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट ३ सय ६ जनालाई पक्राउ गरेको छ ।
१३४ जना अझै फरार छन् । कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारमा आए, अझै २६ जना फरार छन् । भीमफेदी कारागारका नायब सुब्बा केदार सापकोटाले बताए । भीमफेदी कारागारको ‘क’ र ‘ख’ ब्लकको पर्खाल भत्काएर गत भदौ २४ गते राति साढे १२ बजे ४४० जना कैदीबन्दी फरार भएका थिए । फरार भएकामध्ये ३०६ जना पक्राउ परेका छन् ।
२६ जना भारतीय नागरिकसहित १३४ जना अझै फरार छन्’ भीमफेदी कारागारका नायब सुब्बा सापकोटाले भने, ‘जेल फोडेर भागेकाहरूको खोजी गरिरहेका छौं ।’ भीमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर ‘क’ ब्लकबाट २६० र ‘ख’ ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीहरूको खोजीका क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको सापकोटाले बताए ।
कारागारबाट भागेका १३४ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए । भीमफेदी कारागारबाट अहिलेसम्म फरार भएका कैदीबन्दीहरूमध्ये सबैभन्दा धेरै लागूऔषध र जबरजस्ती करणी मुद्दाका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागार, नख्खु कारागार, भरतपुर, कास्की, तनहुँलगायत जेलबाट भागेकाहरूलाई मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पनि भीमफेदी कारागारमा राखिएको छ । अहिले भीमफेदी कारागारमा ३५ जना महिलासहित ९ सय ७५ जना कैदीबन्दी छन् । तीमध्ये ४४ जना विदेशी नागरिक छन् । जेल फोडेर भाग्नु भन्दा अघि भीमफेदी जेलमा १ हजार ६६ जना कैदीबन्दी थिए ।
बालसुधार गृहबाट ५ बालक अझै फरार
हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङमा रहेको बालसुधार गृहबाट भदौ २५ गते बिहान ७२ जना बालकहरू भागेका थिए ।
तीमध्ये प्रहरीले ६७ जनालाई नियन्त्रणमा लिएको छ भने ५ जना अझै फरार रहेको सुधारगृहका प्रमुख प्रदीप गौतमले भने, ‘उनीहरू घरमा पनि पुगेका छैनन्, सम्पर्कमा पनि छैनन् ।’ हालसम्म फरार रहेकामध्ये लागूऔषध र जबरजस्तीकरणी मुद्दाका छन् । बालसुधार गृहमा ९४ जना बिग्रेका बालकहरू रहेका थिए । अहिले बालसुधार गृहमा ८४ जना बालकहरू छन् ।
