अख्तियारद्वारा यातायात व्यवस्था कार्यालयका अधिकृत र लेखापढी व्यवसायीसहित दुई पक्राउ

हेटौंडाका एक अधिकृत र बिचौलिया काम गर्ने लेखापढी व्यवसायीसहित दुई जनालाई पक्राउ गरेको छ ।

फाल्गुन १३, २०८२

प्रताप विष्ट

CIAA arrests two including an officer of the Transport Management Office and an accountant

प्रताप विष्ट — सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले यातायात व्यवस्था कार्यालय हेटौंडाका एक अधिकृत र बिचौलिया काम गर्ने लेखापढी व्यवसायीसहित दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवाल र बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

सवारी सरुवा सहमति गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीबाट ११,५०० (एघार हजार पाँच सय रुपैयाँ) घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालयबाट मंगलबार दुवै जनालाई ३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका सूचना अधिकारी विमोचन घिमिरेले बताए ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully