२०७० सालको संविधानसभा निर्वाचन बहिस्कार गरौं भन्दै काठमाडौंको कुलेश्वरमा बम विस्फोट गराउन खोज्दा देब्रे हात गुमाएका महेश नेपाली अहिले मकवानपुर-१ निर्वाचन क्षेत्रमा नेकपा माओवादीबाट उम्मेदवार छन् ।
What you should know
हेटौंडा — निर्वाचनको मिति नजिकिँदा उम्मेदवारहरुलाई प्रचारप्रसार गर्न भ्याईनभ्याई छ । मतदाता आकर्षित गर्न उम्मेदवारहरुले घरदैलो, कोणसभा र टोल भेला गर्दै आएका छन् ।
कार्यकर्ता, समर्थक, शुभेच्छुक र सहयोगीको साथमा उम्मेदवारहरु बिहानदेखि अबेरसम्म प्रचारप्रसारमा ज्टुेका छन् । उनीहरुका प्रचारप्रसार गर्ने शैली पनि आफ्नै खालका छन् ।
२०७० सालको संविधानसभा निर्वाचन बहिस्कार गरौं भन्दै काठमाडौंको कुलेश्वरमा बम विस्फोट गराउन खोज्दा देब्रे हत्केलो गुमाएका महेश नेपाली अहिले मकवानपुर-१ निर्वाचन क्षेत्रमा नेकपा माओवादीबाट उम्मेदवार छन् ।
चोक चौतारो, टोल र बाक्लो बस्तीको चौरमा मतदातालाई हाते माईकबाट भेला हुन आग्रह गर्दै आफु वरिपरी जम्मा भएकालाई उनले आफ्ना कुरा सुनाउने गरेका छन् । दाहिने हातले माईक समातेर उपस्थित भएका मतदातालाई आफ्नो कुरा निर्धक्कसँग राख्ने गरेका छन् ।
माघ ६ गते उम्मेदवारी दर्ता गराएपछि साथीभाईको सहयोगमा हातेमाइक किनेका छन् । त्यही हातेमाइकबाट आफ्नो निर्वाचन क्षेत्रका टोल र चोकचौतारामा आफ्ना एजेण्डा सुनाउँदै चुनाव चिन्हसहितको पर्चा वितरण गरिरहेका हुन्छन् ।
मतदातालाई आफ्ना कुरा सुनाउन उनी प्रगतिशील गीत पनि गाउने गर्छन् । उनको सुरिलो स्वरले गाएको सुन्न मतदाताहरु झुम्मिने पनि गरेका हुन्छन् । नेकपा माओवादीको सांस्कृतिक संगठन सामान परिवारको संयोजकसमेत रहेका पार्टीका केन्द्रीय सदस्य नेपाली २०६१ सालमा सशस्त्र द्वन्द्वमा सामेल भएका थिए ।
बन्दुक बोक्ने रहर भए पनि उनलाई पार्टीले सांस्कृतिक फाँटको जिम्मा दिएको थियो । गीत आफै लेख्ने, गाउने र बाजासमेत बजाउने कला भएका नेपाली २०४४ सालमा जन्मेका हुन् । सात कक्षासम्म अध्ययन गरेका नेपाली आफ्नो पार्टीको जनमत रक्षा र विस्तार गर्नको साथै सिंगो मुलुकको निकासको योजना सुनाउन पार्टीले उम्मेदवार बनाएको बताउने गरेका छन् ।
पार्टीले उनलाई निर्वाचनका लागि मोटरसाइकल उपलब्ध गराएको छ । त्यो मोटरसाइकल पनि सहयोगीले चलाएर ठाँउ/ठाँउमा पुर्याउने गरेका छन् । हातको कारणले नेपालीले मोटरसाइकल चलाउन सक्दैनन् । मोटरसाइकलमा पनि तेल साथीभाईहरुले भरिदिने गरेका छन् । ‘प्रचारप्रसारमा हिँड्दा सहयोगी र मतदाता कहाँ जे पाइन्छ त्यही खाने गरेका छौं,’ उनले भने, ‘यसरी किफाइती गर्दा पनि ५/७ लाख रुपैयाँ खर्च हुने रहेछ। यस्तो निर्वाचन प्रणालीमा कसरी गरिब र मजदुरहरु निर्वाचित हुन सक्छन् ? त्यसैले यो चुनाव प्रणाली बदल्नै पर्छ ।’
१२ वर्षअघि संविधानसभाको निर्वाचन बहिस्कार गरौं भन्दै बम बिस्फोट गराउने क्रममा उनको देब्रे हातमा चोट लागेको थियो । ‘बमले देब्रे हातको नाडीको माथिल्लो भाग उडाईदिएको थियो उनले भने, ‘त्यतिबेला उपचारका लागि २० दिन अस्पताल बस्नु पर्यो ।’
संविधानसभा निर्वाचन बहिस्कार गरेर अहिले त्यही संविधान अन्तरगत किन निर्वाचनमा भाग लिएको भनेर मतदाताले उनलाई प्रश्न पनि गरिरहेका हुन्छन् । ‘समय फेरियो । त्यो बेला, त्यही ठिक थियो । जेनजीहरुको विद्रोहपछि समय फेरिएको छ,’ उनी मतदातालाई जवाफ फर्काउँछन् ।
देब्रे हत्केलो नभए पनि हारमोनिय, गितारलगायत बाद्यवादन बजाएर गीत गाउने गरेका छन् । दाहिने हातले नै माईक समातेर उनी घन्टौंसम्म आफना कुरा सुनाउने गर्छन् । बिहान ७ बजेदेखि अध्यारो नभएसम्म एक दिनमा १० देखि १५ ठाउँमा कोणसभा भ्याइरहेको उनले बताए ।
मकवानपुर-१ निर्वाचन क्षेत्रमा मकवानपुरको हेटौंडा उपमहागनगरपालिकाको १५ वटा वडा, वकैया, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा पर्छन् । ४० वटा वडा रहेको मकवानपुर-१ मा १३ दलका र १० स्वतन्त्र गरी २३ जना उम्मेदवार छन् । २३ जनामध्येमा तीन दलकासहित ५ महिला छन् ।
राप्रपाले यो क्षेत्रमा निवर्तमान सांसद ६४ वर्षीय दिपकबहादुर सिंहलाई पुनः प्रतिस्पर्धामा उतारेको छ ।
कांग्रेसले ६१ वर्षीया महालक्ष्मी उपाध्याय ‘डिना’लाई उम्मेदवार बनाएउको छ । एमालले ६३ वर्षीय रामेश्वर रानालाई उम्मेदवार प्रस्तुत गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ४० वर्षीय विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३७ वर्षीय प्रकाश गौतम, नेकपा माओवादीले ३८ वर्षीय महेश नेपाली, उज्यालो नेपाल पार्टीले ३६ वर्षीय सुरेन्द लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीले ४१ वर्षीय रमेशप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीको तर्फवाट ४१ वर्षीया विद्या श्रेष्ठ महर्जन उम्मेदवार छन् ।
जसपाका (एकल चुनाव चिन्ह) ३४ वर्षीय दीपक सिन्तान, मंगोल नेशनल अर्गनाइजेशनका ४३ वर्षीय युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी ५४ वर्षिय रञ्जना सुवाल मगजु, जसपा नेपालका ४७ वर्षीय रुपक लामा उम्मेदवार छन् । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार अमर दंगाल, अमिक परियार, टीकाप्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मिठु कुमारी मगर, राकेशकुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञानसागर लामा छन् ।
मकवानपुर-१ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र छन् । १ लाख ५८ हजार ४३५ मतदाता रहेको यो क्षेत्रमा ७८ हजार ८१० महिला मतदाता छन् । ४ जना अन्य मतदातासमेत छन् ।
