धादिङको खनियाबास गाउँपालिकास्थित झार्लाङ स्वास्थ्य चौकीमा १९ वर्षीया चुनुमाया विकले जन्माएको नवजात शिशुको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको हो ।
हेटौंडा — बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाको पहलमा गम्भीर स्वास्थ्य अवस्थाका नवजात शिशुको हेलिकोप्टरमार्फत आपतकालीन उद्धार गरिएको छ ।
धादिङको खनियाबास गाउँपालिकास्थित झार्लाङ स्वास्थ्य चौकीमा १९ वर्षीया चुनुमाया विकले जन्माएको नवजात शिशुको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको हो ।
तौल कम भएको शिशु जन्मनासाथ नरोएको, शरीर निलो देखिएको तथा अक्सिजनको मात्रा कम देखिएपछि जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा हेलिकोप्टरमार्फत आपतकालीन उद्धार गरेर कान्ति बाल अस्पताल, काठमाडौं पुर्याइएको थियो ।
अस्पताल पुगेलगत्तै शिशुलाई नवजात सघन उपचार कक्ष (एनआइसीयू) मा भर्ना गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक डा. नरेन्द्र कुमार झाले बताए ।
बागमती प्रदेश सरकारले दुर्गम क्षेत्रका गम्भीर अवस्थाका गर्भवती एव सुत्केरी र नवजात शिशुलाई हेलिकोप्टरमार्फत आपतकालीन उद्धारको व्यवस्था विगत २ वर्षदेखि गर्दै आएको छ ।
गत आर्थिक वर्षमा दोलखा र रामेछापका ३ जना सुत्केरीको निर्देशनालयले सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा हेलिकोप्टरमार्फत उद्धार गरेको थियो । चालु आर्थिक वर्षमा एक नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरिएको निर्देशक डा.झाले बताए ।
