चेपाङ र तामाङ बस्तीमा मातृभाषामा मतदाता शिक्षा

स्वयंसेवकहरु समुदाय अनुसार छनोट गरिएको हुँदा मातृभाषामा समेत मतदाता शिक्षा दिइरहेको थाहा नगरपालिकाका मतदाता शिक्षा अनुगमनकर्ता अनिल लामिछानेले बताए ।

फाल्गुन ४, २०८२

प्रताप विष्ट

Voter education in mother tongue in Chepang and Tamang settlements

What you should know

हेटौंडा — मकवानपुरका विभिन्न पालिकामा स्वयंसेवकले मातृभाषामा मतदाता शिक्षा दिइरहेका छन् । मकवानपुर-२ निर्वाचन क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिका अधिकांश वडाका स्वयसेवकले चेपाङ भाषामा मतदाता शिक्षा दिइरहेका छन् ।

राक्सिराङ र कैलाश गाउँपालिका चेपाङ समुदायको बाहुल्यता भएका पालिका हुन् भने यहाँ साक्षरता प्रतिशत पनि अत्यन्त न्यून छ । थाहा नगरपालिकाका स्वयंसेवकहरुले पनि तामाङ भाषामा मतदाता शिक्षा दिइरहेका छन् ।

स्वयंसेवकहरु समुदाय अनुसार छनोट गरिएको हुँदा मातृभाषामा समेत मतदाता शिक्षा दिइरहेको थाहा नगरपालिकाका मतदाता शिक्षा अनुगमनकर्ता अनिल लामिछानेले बताए । 

थाहा नगरपालिकामा  २०७८ को जनगणना अनुसार तामाङ भाषीको बाहुल्यता रहेको छ । पालिकाहरुले वडा/वडाका स्वयंसेवक पनि वडाका समुदाय हेरेर मतदाता शिक्षा स्वयंसेवक राखेका छन् । 

मकवानपुरका १०२ वडामा आइतबारबाट मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । फागुन २१ गतेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा संचालनका लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडाले अनुगमनकर्तालाई तालिम दिएर मतदाता शिक्षा कार्यक्रम जिल्लाको १०२ वटै वडामा संचालन गरेको हो । 

प्रत्यक वडाका सबैजसो मतदातालाई घरघरमा पुगेर मतदाता शिक्षा दिइने छ । मकवानपुरका प्रत्येक पालिकाबाट एक–एक जना अनुगमनकर्तालाई तालिम दिएको थियो । तालिम प्राप्त अनुगमनकर्ताले आफ्नो पालिकाको प्रत्येक वडाबाट एक–एक जनालाई तालिम दिएर वडा तहमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । 

प्रत्येक वडाका बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रममा परिचालन गरिएको छ । फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गरिने प्रदेश निर्वाचन कार्यालय हेटाै‌ंडाका प्रमुख हरिप्रसाद ढकालले बताए ।  

मकवानपुरमा २०७९ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मकवानपुर-१ मा ४ दशमलव ४६ प्रतिशत  र  समानुपातिकमा ३ दशमलव ९३ मत बदर भएको थियो । यसैगरी २०७९ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मकवानपुर-२ मा ४ दशमलव ७६ प्रतिशत र सामानुपातिकतर्फ ४ दशमलव ८५ मत बदर भएको थियो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर-१ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । मकवानपुरका कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ मा महिला १ लाख ५३ हजार ३७६ र अन्य मतदाता ५ जना रहेका छन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully